लिभरपुलको शीर्ष चारमा पुग्ने गणितीय सम्भावना कायमै
न्युक्यासल र युनाइटेडमध्ये एक टिम बाँकी दुईमध्ये कम्तिमा एक खेलमा पराजित भए मात्रै लिभरपुल शीर्ष चारमा पुग्ने छ।
लन्डन : रोबर्टो फिर्मिन्होले ८९ औं मिनेटमा गरेको गोलसँगै एस्टन भिल्लाविरुद्धको हार टारेको लिभरपुलको इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा पुग्ने सम्भावना कायमै रहेको छ। जारी लिगमा एक खेल मात्र बाँकी रहँदा शनिबार पराजित भएको अवस्थामा लिभरपुलको अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने सम्भावना समाप्त हुने थियो।
शनिबार राति लिभरपुलकै मैदानमा भएको खेलको २७ औं मिनेटमा ज्याकोब रामसेले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदासम्म त्यसको बचाउ गरेको भिल्लाले ८९ औं मिनेटमा गोल खाँदा तीन अंक खोस्न सकेन।
मोहम्मद सालाहले दायाँतर्फबाट दिएको क्रसलार्य ६ यार्ड बक्सभित्र रहेका फिर्मिन्होले ट्याप इन गर्दै बराबरी गोल फर्काएका थिए।
बराबरीसँगै ३७ खेलबाट लिभरपुल ६६ अंकसहित पाँचौं स्थानमा छ। समान खेलबाछ ५८ अंक जोडेको एस्टन भिल्ला सातौं स्थानमा छ।
म्यानचेस्टर सिटी ८५ अंकसहित लिग च्याम्पियन बनिसक्दा दोस्रो स्थानको आर्सनलको ८१ अंक छ। न्युक्यासल ६९ अंकसहित तेस्रो तथा म्यानचेस्टर युनाइटेड पनि समान अंकसहित चौथो स्थानमा छ।
न्युक्यासल र युनाइटेडमध्ये एक टिम बाँकी दुईमध्ये कम्तिमा एक खेलमा पराजित भए मात्रै लिभरपुल शीर्ष चारमा पुग्ने छ।