घरेलु दर्शकसामू पराजित बार्सिलोनाले उचाल्यो उपाधि
जारी सिजन तीन खेल बाँकी रहँदा बार्सिलोना ८५ अंक जोडेर च्याम्पियन बनिसकेको छ।
मड्रिड : चार खेल अगावै ला लिगा च्याम्पियन बनेको बार्सिलोना शनिबार राति घरेलु मैदानमा रियाल सोसिडाडसँग १–२ गोलको नतिजामा पराजित भएको छ। घरेलु मैदानमा उपाधिको खुशी मनाउन आएका दर्शकसामू पराजित भएपनि बार्सिलोनाले ट्रफी सेलिब्रेसन गर्यो।
पाँचौं मिनेटमा मिकेल मेरिनोले गरेको गोलसँगै भ्रमणकारी सोसिडाडले अग्रता लिएको थियो। घरेलु टिममाथि उत्कृष्ट दबाब बनाएको सोसिडाडका लागि ७२ औं मिनेटमा अलेजेन्डर सोर्लोथले गोल गर्दै अग्रता ०–२ मा पुर्याएका थिए।
निर्धारित समयको अन्तिम मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काए पनि बार्सिलोनाको हार टार्न पर्याप्त भएन। यद्यपि, त्यो हारले बार्सिलोनालाई खासै केही प्रभाव परेन। जारी सिजन तीन खेल बाँकी रहँदा बार्सिलोना ८५ अंक जोडेर च्याम्पियन बनिसकेको छ।
लिग च्याम्पियनसँग तीन अंक खोसेको सोसिडाड शीर्ष चारमा रहेका अर्को वर्ष च्याम्पियन्स लिग खेल्न नजिक छ। उसको ३५ खेलबाट ६५ अंक छ। तेस्रो स्थानको एट्लेटिको मड्रिडले ३४ खेलबाट ६९ अंक जोडेको छ।
दोस्रो स्थानको रियाल मड्रिडको ३४ खेलबाट ७१ अंक छ।