कर्णालीका मिटरब्याजी : हजार दिने, लाखौं उठाइरहने

कर्णालीका मिटरब्याजी : हजार दिने, लाखौं उठाइरहने
मिटरब्याजबाट पीडितहरू जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिने क्रममा रुँदै आफ्नो समस्या सुनाउँदै । तस्बिर : बिस्नप्रसाद न्यौपाने

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नासु गोमा सुवेदीले शुक्रबारसम्म सुर्खेतमा मात्र ५६ जना मिटर ब्याज पीडितहरूले न्याय माग्दै प्रशासनमा उजुरी दिन आएको बताइन्।

वीरेन्द्रनगर : वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी लक्ष्मीकुमारी शाहीको खजुरामा घर, जग्गा गरी झन्डै करोड हाराहारीको सम्पत्ति थियो। दुई छोरा एक छोरी र श्रीमान्सहित पाँच जनाको उनको परिवारमा सामान्य घरायसी समस्याबाहेक कुनै अभाव थिएन। लक्ष्मीसँग वीरेन्द्रनगर नगरपालिका–२ निवासी चन्द्रा गिरीसँग चिनजान भयो। चन्द्राले आफूले पैसा ब्याज लगाउने गरेको र कोही कसैलाई आवश्यक परे समन्वय गरिदिन भनिन्।

लक्ष्मीले पनि आपतमा परेका मानिसहरूलाई भनेका बेला ब्याजमा पैसा उपलब्ध गराइदिन थालिन्। चन्द्राले ऋण दिने सबै मानिसहरूबाट एक सयको साताको १० प्रतिशतका दरले ब्याज उठाउँथिन्। लक्ष्मीले पैसा लिने मान्छे बनाइदिएबापत होटलमा मःम खुवाउने र एक/दुई हजार पकेट खर्च पनि दिन्थिन्। 

लक्ष्मी र चन्द्राको यस्तो आर्थिक कारोबारमा सहकार्य हुँदै गएपछि मित्रताका साथै आर्थिक लेनदेन हुन थाल्यो। २०७८ साल चैत २७ गतेको कुरा हो लक्ष्मीको महिला समूहमा २ लाख ७० हजार छोराछोरीको पढाइमा लगानी गर्न निकालेको ऋण थियो। उनले त्यो समूहमा रहेको उक्त ऋण तिरेर केही थप पैसा भएपछि व्यापार व्यवसाय गर्ने भनेर घर सल्लाह गरिन्। र, उनकी साथी चन्द्रा गिरीसँग २ लाख ७० हजार सापटी मागिन्। चन्द्राले लक्ष्मीलाई एक साताका लागि सयको १० प्रतिशतका दरले ब्याज लिने भनेर उक्त २ लाख ७० हजार ऋण लगिन्। 

लक्ष्मीले उक्त रकम एक साताभित्र तिर्न सकिनन्। समूहबाट पनि ऋण पाउन ढिलो भयो। एक लाखको साताको १० हजार, महिनाको ४० हजारका दरले ब्याज बढ्दै गयो। पछि समूहबाट पनि ५ लाख ऋण लिकाल्दा चन्द्राको ब्याज बुझाउनै पुगेन। साँवा त झन् अहिलेसम्म पनि बाँकी छ। मिटरब्याजमा लगाउने चन्द्राबिरुद्ध उजुरी दिन प्रशासनमा पुगेकी लक्ष्मीले भनिन्, ‘पैसा ब्याजमा लगाइदिए बापत एक दुई हजार पाउने लोभमा चन्द्राको संगतमा फसे। उसँग लिएको २ लाख ७० हजारमा हालसम्म झन्डै ७ लाख तिरिसकेकी छु। २ लाख ७० हजार साँवा बाँकी नै छ। अझ मेरो हस्ताक्षर गरी खाली चेक लिएकी छ। त्यो चेकमा कति रकम भर्ने हो थाहा छैन।

समूहबाट चन्द्राकै ब्याज तिर्न निकालेको ५ लाख त्यो पनि तिर्न बाँकी नै छ। बाराम्बार चन्द्राले कि सबै पैसा तिर नतिरे जे पनि गर्दिन्छु भनेर धम्की दिएपछि वीरेन्द्रनगर नगरपालिका– ३ निवासी चन्द्रा वयकसँग पनि उनले पटक–पटक गरी पाँच लाख मागेकी थिइन्। 

उनले पनि दुइटा खाली चेकमा हस्ताक्षेर गरेर लिइन् र एउटा चेकमा १६ लाख रकम भरेर अदालतमा चेक ब्राउन्स गरेकी छन्। अर्को चेकमा कति रकम भर्ने हुन् थाहा छैन। उनको ऋण तिर्नका लागि १० लाख दिने भनेर गिरी र वयकले खजुराको घर बजारकै व्यवसायी जीवन सुनारको नाममा अटोपास गरी रकम निकाले। आफ्नो बस्ने घर पनि जीवन सुनारको नाममा छ। जीवनबाट मागेको १० लाख पनि चन्द्रा गिरी र वयकले नै लिए। उनी भन्छिन्, ‘अहिले मेरा न घर छ। न जग्गा जमिन नै। दुई हजार पकेट खर्चको लाभले चन्द्रासँग गरेको संगतले अहिले करोडौंको आफ्नो सम्पत्ति पनि गुम्यो। दुवैले खाली चेकमा ४ करोड थप ऋण लिएको भनेर भरेकी छन्। यसबाट अब कसरी उम्किउँ।’nullजिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिन पुगेका मिटरब्याजी पीडितहरू ।

यस्तै वीरेन्द्रनगर नगरपालिका–३ की रामकुमारी भट्टराईले त्यसै वडाकी गीता खत्रीसँग तीन वर्ष अगाडि ५ लाख लिइन्। त्यो ऋणको साताको १ लाखको १० हजारले ब्याज तिर्दा–तिर्दा सबै सम्पत्ति सकियो। गीताले बिभिन्न समयमा सबै पैसा भुक्तानी गर्न दबाब दिइन्। उनले पैसाको व्यवस्था गर्दैछुभन्दा गीताले पनि रामकुमारीको हस्ताक्षर गरेको खाली चेक लगिन्। उनले उक्त खाली चेकमा चार करोड रकम भरिन्। पाँच लाख लिएको ऋणको चार करोड चेकमा लेखेपछि एक पटक त आत्महत्या गर्न पत्रसमेत लेखिन्। तर, परिवारले आत्महत्या गर्न दिएनन्। उनले पनि न्याय माग्दै प्रशासनमा उजुरी दिएकी छन्। 

उनले भनिन्, ‘मैले गीतालाई ४ करोड दिनै छैन। उसले मेरो हस्ताक्षर गरेको खाली चेक लिएर नराम्रोसँग फसाई। हिजो आज उ फरार छ। उजुरी दिए ज्यान मार्ने धम्की पनि आएको थियो। तर, यो चार करोड तिर्न नसकेर आफैंले सुसाइट नोट लेख्न बाध्य भएकी छु। मलाई ज्यानको प्रवाह छैन। गीतासँग भएको चार करोडको चेक प्रशासनको सहयोगमा नच्याते मलाई कुन दिन जेल पठाउने हो थाहा छैन। मसँग चार करोडको कारोबार के गरेकी हो देखाउनुपर्छ। उसले यति पैसा कहाँबाट ल्याएकी हो स्रोत खुलाउनुपर्छ। यस विषयमा गम्भीर ढंगले प्रशासनले छानबिन गरोस्।’

यस्तै वीरेन्द्रनगर नगरपालिका–१० कि पवित्रा न्यौपानेले स्थानीय अम्भीका बस्नेतसँग समूहको ऋण तिर्न एक लाख रूपैयाँ सापटी लगिन्। साताको एक लाखको १० हजारले नै ब्याज लिएकी थिइन्। जुन एक लाखबाट ब्याज मात्र १० लाख तिरिसकिन्। तर, अम्भीकाको १ लाख साँवा बाँकी नै रह्यो। त्यसपछि पवित्राले अम्भीकालाई खाली चेक हस्ताक्षेर गरेर दिइन्। उक्त चेक अम्भीका बस्नेतबाट उनकी साथी शारदा बुढाले लिएर पवित्राको चेकमा ९ लाख ७५ हजार रुपैयाँ भरिन्। अहिले शारदा बुढाले ९ लाख ७५ हजारको चेक ब्राउन्स गरी अदालतमा मुद्दा हालेकी छन्। पीडित पवित्राले भनिन्, ‘अम्भीकासँग एक लाख मागेको १० लाख तिरिसके। शारदा बुढासँग मेरो चिनजान र कुनै कारोबार नै थिएन्। तर, अम्भीकालाई दिएको खाली चेक शारदाले लिएर चेक ब्राउन्स गरिन्। अदालतले कुन दिन जेल पठाउने हो।’

आफू कसरी मिटरब्याजीको चंगुलमा फसे भन्ने बिषयमा बताउँदै पीडित पवित्राले भनिन्, ‘मिटरमा ब्याज लगाउनेहरू सुरुमा आफैं घरमा पैसा दिन आउने रहेछन्। पछि ब्याज ठटाएर लिने, साँवा नदिए पनि नमाग्ने। जब हामीले तिर्न नसक्ने ब्याज पुग्छ। अनि खाली चेक माग्ने, त्यो खाली चेकमा आफैं रकम भरेर मुद्दा हाल्ने र फसाउने रहेछन्। मान्छे जब मुद्दाको सामना गर्न अदालत पुगेपछि बल्ल पीडा हुने रहेछ। मैले अम्भीका बस्नेतसँग लिएको एक लाख ऋणले मेरो परिवारकै बिचल्ली भयो। झन्डै पाँच वर्ष उसकै लागि काम गरियो। न कमाएको पैसा आफूले उपभोग गर्न पाईयो। न उसको ऋण तिर्न नै सकियो। अब त बैकमा मुद्दा चलिरहेको ९ लाख ७५ हजारको चेकले कुन दिन कारागार चलान गर्ने हो थाहा छैन्। पहिले ऋण लिँदाखेरी यसरी आफ्नो सम्पतीको नास हुने कल्पना पनि गरेकी थिइन्।’

वीरेन्द्रनगर नगरपालिका–१० की मन्जु बिकको पनि पीडा उस्तै छ। बिकको आर्थिक अवस्था कमजोर छ। नगरपालिका–८ की झरना देवकोटासँग सामान्य चिनजान थियो। झरनाले मन्जुलाई सधै मसँग धेरै पैसा छ। ब्याज लिन कोही आए मलाई भन्नु भनेर भनिन्। मञ्जुले पनि ब्याजको रकम लिन चाहाने मानिसहरूलाई झरनाको सम्पर्कमा पठाउन थालिन्। मञ्जुलाई ऋण लिन मान्छे पठाएबापत एक दुई हजार रुपैयाँ दिने, बजार आएको बेला कहिलेकाहीँ खाजा खुवाउने, कपडा किनिदिने गर्न थालिन्। आर्थिक अवस्था कम्जोर रहेको मञ्जुको घरायसी समस्याले एक दुई हजार खर्च आउन थालेपछि धेरै मानिसहरू ब्याजमा पैसा लिने खोज्ने र झरनालाई भेटाइदिने काम गरिन्।

nullजिल्ला प्रशासन कार्यालय सुर्खेत र  मिटरब्याजी गीता खत्रीले पीडित रामकुमारी भट्टराईसँग खाली लिएर चार करोड रकम लेख्दै अदालतमा 
मुद्दा हाल्न प्रयोग गरेको चेकको फोटोकपी। तस्बिर : बिस्नप्रसाद न्यौपाने 

मञ्जुले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘एक/दुई हजार पकेट खर्चको लोभले झरनासँग धेरै समय कारोवार गरियो। केही वर्षपछि झरनाले आफ्नो नाममा १५ लाख रुपैयाँ ऋण पुगेको भनिन्, मैले एकैपटक लिएको होइन्। उनकै लागि काम गर्दा पटक–पटक घरमा समस्या परेको बेला पैसा मागेकी हुँ। तर, १५ लाख नै पुगे जस्तो लागेको थिएन्। एकैचोटी साताको १० हजारका दरले ब्याज जोड्न थालिन्। ब्याजसहित हिसाव गर्दा ३८ लाख ७८ हजार पुग्यो। त्यो रकम कागज गरियो। मैले सबै पैसा तिर्न नसक्ने भन्दै आफूले भएको सम्पती बिक्री गरेर, दैनिक ज्याला मजदुरी गरेको सबै जम्मा गर्दा १५ लाख जम्मा गरी झरनालाई तिरे। उनले वकिलकोमा १५ लाख तिरेपछि ३८ लाख ७८ हजारको कागज च्यातिदिने भनेर बोलाईन्। कागज पनि च्याते। फेरि एक खाली कागजमा आफूलाई ल्याप्चे गर्न लगाए।

ऋणबाट उम्कीन मैले ल्याप्चे पनि गरिदिए। तर, मलाई खाली कागजमा ल्याप्चे गराएर फेरि २२ लाखको कागज बनाएछन्। जुन कागजले मुद्दा हालेर म २२ दिन हिरासत पनि बसे। फेरि दिदी। भिनाजुलगायतले सहयोग गरेर ६ लाख रुपैयाँ तिरेर बाहिर निकाले। तर, झरनाले मेरो दिदी र झरनाको भाइ भनिने ओमप्रवाश तिवारीको नाममा जग्गाको कित्तासमेत हालेर २५ लाखको थप कागज बनाएका छन्। भिनाजुको नामको ४ लाखको चेक पनि लिएका छन्। अब जम्मा २९ लाख रुपैयाँ कसरी तिर्ने ? नतिरे फेरि जेल हाल्ने धम्की दिएका छन्।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नासु गोमा सुवेदीले शुक्रबारसम्म सुर्खेतमा मात्र ५६ जना मिटर ब्याज पीडितहरूले न्याय माग्दै प्रशासनमा उजुरी दिन आएको बताइन्। उनका अनुसार अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको पत्रअनुसार मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन वैशाख १७ गते सूचना निकालिएको थियो। जसअनुसार हालम्म ५६ जना पीडितहरूले उजुरी दिएका छन्। यही जेठ ७ गतेसम्म उजुरी दिने म्याद राखिएको छ। पीडितहरू दिनहुँ उजुरी दिन आइरहेका छन्। प्रशासनमा आएको उजुरी हामिले सिधै अनलाइन इन्ट्री गरेर अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग पठाइरहेका छौं। 

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी विष्णुप्रसाद न्यौपानेले सुर्खेतमा व्यापक रूपमा मिटरब्याज पीडितहरू रहेको आशंका गरे। उनले भने, ‘प्रशासनमा उजुरी दिन आएका पीडितहरूको कुरा अनुसार सुर्खेतमा धेरै पीडित छन्। तर, मिटरब्याजीहरूको धम्कीले डराएर उजुरी दिन कम आएको हुनसक्ने अनुमान हामीले गरेका छौं। आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन लिइरहेको छ। पहिलो चरण सुर्खेतमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म पीडितहरूको निवेदन संकलन गर्न सूचना निकालेको थियो। त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो। अब आइतबारसम्म पीडितको निवेदन संकलन गरिने म्याद छ। 

कर्णाली प्रदेशका अन्य दुई जिल्लाहरूमा पनि मिटरब्याजीबाट पीडितहरूले प्रशानमा उजुरी दिएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म जिल्ला प्रशासन कार्यालय सल्यानमा ११ र जाजरकोटमा २ वटा मिटरब्याजीहरूबिरुद्ध पीडितहरूले उजुरी दिएका छन्। कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, रुकुम पश्चिम र दैलेख जिल्लामा हालसम्म एक जना पनि मिटरब्याज पीडितहरू उजुरी दिन आएका छैनन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.