पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
जोमसोम : पहिरोका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि आइतबार साँझ ५ बजेदेखि सडक सञ्चालनमा आएको हो।
अविरल वर्षाका कारण आएको पहिरोले आइतबार बिहानैदेखि बेनी-जोमसोम सडकखण्डको म्याग्दी र मुस्ताङको सिधा यातायात सम्पर्क विच्छेद बनेको थियो।
गएराति परेको अविरल वर्षाका कारणले राष्ट्रिय राजमार्गको म्याग्दी खण्ड र मुस्ताङ खण्डमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको बेनी-जोमसोम-कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिए।
उनका अनुसार वर्षाले मुस्ताङको लेते खोला, म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित गोईठेको दुई स्थानको सडक र जलथले खोला लगायतमा पहिरोले सडक अवरुद्ध बनेको थियो।
यसैगरी गएरातीको वर्षाले म्याग्दीको भुरुङ तातोपानी बजार नजिकको पुरानो सडक कल्भर्ट पुल भासिएको आयोजना प्रमुख प्रजापतिले बताए।