बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा (फोटो फिचर)
काठमाडौं : बंगलादेशलाई ३-० सेटले पराजित गर्दै नेपाल एनएससी- काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि २५-१०, २५-८, २५-९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा कीर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथिको जितसँगै ६ अंक बनाएको हो।
यसै समूहबाट भारतले कीर्गिस्तानमाथि ३-० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो। भारतले कीर्गिस्तानलाई २५-१७, २५-८, २५-८ को जित निकालेको हो।
समूह विजेता र उपविजेताको छिनोफाने भोलि बुधबार हुने नेपाल र भारत बीचको खेलले निर्धारण गर्नेछ। कीर्गिस्तान र बंगलादेशले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै मंगलबार नै भएको समूह बी को खेलमा काजाकिस्तानले श्रीलंकामाथी निकैनै प्रतिस्पर्धात्मक खेलमा ३-१ सेटको जित निकाल्न सफल भयो। पहिलो र दोस्रो सेट २५-१६, २८-२६ ले आफ्नो पक्षमा पारेको काजाकिस्तानले तेस्रो सेट १८-२५ ले श्रीलंकालाई सुम्पियो।
त्यस्तै चौथो सेटमा निकैनै प्रतिस्पर्धात्मकरूपमा २९-२७ ले काजाकिस्तानले जित्दै जित आत्मसाथ गर्यो। यस जितका साथै काजाकिस्तानको ६ अंक भएको छ। पहिलो खेलमा काजाकिस्तानले मालदिभ्सलाई पराजित गरेको थियो।
तस्बिर : सुनिता डंगोल