बारामा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१४ स्थित खयरघारीमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते भएकी छिन्। घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छिन्।
बाघले आक्रमण गर्दा उनको अनुहार, पेटलगायत शरीरको विभिन्न भागमा चोट लागेको छ। प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
अस्पतालमा रहेकी जीतपुरसिमरा उपमहानगरपालिका-१४ की वडाध्यक्ष चयन गुरुङले महिलाको शरीरमा गम्भीर चोट लागेको र उपचार भइरहेको जानकारी दिइन्। उनले महिलाको अवस्था खतरामुक्त रहेको बताइन्।
स्थानीय कपिल खरेलका अनुसार महिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो। महिला ठूलो आवाजमा चिच्याउन थालेपछि स्थानीयले होहल्ला गर्दै बाघलाई लखेटेको खरेलले जानकारी दिए।