चौथो सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने

धनगढी : चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्ड असार ८ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै चौथो संस्करणको सुदूरपश्चिम स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो।
पछिल्ला तीन वर्षदेखि हुँदैआएको चौथो सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७९ आगामी असार ८ गते धनगढीमा आयोजना गर्नका लागि तयारीमा जुटेको मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए।
२०७९ सालको वैशाखदेखि चैत मसान्तसम्म सुदूरपश्चिम प्रदेशका खेलाडीले गरेको प्रदर्शनको आधारमा विभिन्न ८ वटा विधामा अवार्ड वितरण गरिने छ। वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिला, वर्षको उत्कृष्ट प्रशिक्षक, वर्षको युवा खेलाडी, सुदुरपश्चिम आइकन पुरुष तथा महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्ड वितरण गरिने अध्यक्ष पाठकले बताए।
लाइफटाइम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ भने अन्य ६ वटा विधामा तीन/तीन जनाको मनोनयन सार्वजनिक गरी कार्यक्रम हुने दिन विजेताको घोषणा गरिने छ।
अवार्ड कार्यक्रमभन्दा अघि क्रमशः मनोनयनमा परेकाको नाम सार्वजनिक गरिने मञ्चका महासचिव हरि जोशीले जानकारी दिए। वर्षको उत्कृष्ट खेलाडी पुरुष र महिलाले नगद ३५ हजारसहित ट्रफी प्राप्त गर्नेछन्। सुदूरपश्चिम आइकन पुरुष तथा महिलाको विजेताले नगद २० हजारसहित ट्रफी प्राप्त गर्नेछन्।
वर्षको प्रशिक्षकले ३० हजार नगद प्राप्त गर्दा लाईफटाईम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र वर्षको युवा खेलाडीले नगद २५ हजार सहित ट्रफी प्राप्त गर्नेछन्। सुदूरपश्चिम प्रदेशमा खेलकुद तथा खेलाडीहरुका लागि विभिन्न काम गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पछिल्ला तीन वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
