गौतमबुद्ध विमानस्थलमा छैनन् नियमित उडान

गौतमबुद्ध विमानस्थलमा छैनन् नियमित उडान

बजार नदेखेर कम्पनीहरूले उडानको इच्छा देखाएनन्,  २० लाख यात्रु क्षमता ३४ हजारमा सीमित

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १ वर्ष भइसकेको छ। विमानस्थलको २०७९ जेठ २ गतेबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो। गौतमबुद्ध विमानस्थललाई सञ्चालनमा ल्याउनका लागि सेवा शुल्कमा छुट, ग्राउन्डह्यान्डलिङमा छुट लगायत बाध्यकारी नियम बनाए पनि अन्तर्राष्ट्रिय उडान भने खासै हुन सकेन। विमानस्थलको भौतिक संरचनामा करिब ८ अर्ब र मुआब्जा वितरणमा करिब २७ अर्ब रुपैयाँ खर्च भएको छ।

बितेको १ वर्षमा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ सय ५९ उडान तथा अवतरण भएको प्रमुख हंसराज पाण्डे बताउँछन्। जसमा १ सय ८० आगमन र १ सय ७९ प्रस्थान भए। विमानस्थलमा आगमन गर्ने यात्रुको संख्या १४ हजार ७ सय ३९ र प्रस्थान गर्ने यात्रुको संख्या २० हजार १ सय ३८ भएको विमानस्थलले जनाएको छ। कुल यात्रुसंख्या ३४ हजार ८ सय ७७ रहेको छ। ६ करोड १९ लाख रुपैयाँको आम्दानी अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ। अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालन खर्च धान्नका लागि कम्तीमा ६० करोड रुपैयाँ वार्षिक आम्दानी गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आँखाले हेरेर गर्ने (भिजुअल फ्लाइट रुुल्स) र उपकरण हेरेर गर्ने (इन्स्टू«मेन्टल फ्लाइट रुल्स) दुवै उडान भर्न सकिने गौतमबुद्ध विमानस्थल सरकारको राष्ट्रिय गौरवको आयोजना पनि हो। दिगो पर्यटन विकासका लागि मुलुकमा अर्को वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका लागि भैरहवा विमानस्थल निर्माण गरिएको हो।

बितेको एक वर्षमा जजिरा एयरले मात्र नियमित व्यावसायिक उडान भरेको छ। कुवेतको जजिरा एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा पहिलो व्यावसायिक उडान पनि भरेको थियो। विमान कम्पनीले सातामा ३ उडान भर्दै आएको विमानस्थल प्रमुख पाण्डेले बताए। समीक्षा अवधीमा जजिरा एयरले १४ हजार ६ सय ९३ यात्रुलाई सेवा दिएको छ।

तर, गत महिनाबाट नै जजिराले नियमित उडान भने बन्द गरेको छ। जजिराले रातिको समय उडान भर्ने भएकाले विहान वा दिउँसोको समयमा सार्न भनेपछि अहिले उडान बन्द गरेको हो। व्यावसायिक उडानको तालिकाको प्रक्रियामा रहेकाले अहिलेलाई जजिराले उडान बन्द गरेको जानकारी दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलले बताए। ‘यही अप्रिल २० बाट बन्द भएको उडान मे ८ बाट पुनः सुरु गर्ने भनिए पनि जानकारी केही आएको छैन,’ उनले भने। एउटा जहाजका लागि विमानस्थल खुल्ला राख्नुपर्ने भएपछि सञ्चालन खर्च बढ्ने भन्दै उडान समय सार्न भनिएको हो। अहिले विमानस्थलसँग कुनै नियमित उडान छैन। जजिराले प्राधिकरणसँग गरेको अस्थायी हवाइ सञ्चालन सम्झौता पनि जेठ १ गतेबाट नै सक्किएको छ। जजिराले पुनः उडान सुरु गर्न प्राधिकरणसँग हवाई सम्झौता पनि गर्नुपर्ने हुन्छ। भैरहवाबाट उडान पुनः सुचारु गर्ने सम्बन्धमा जजिराको टोलिले प्राधिकरणसँग भेट गरेपनि प्रस्ताव भने पठाइ नसकेको भुलले बताए। जजिराले विमानस्थलले सुझाएको समयमा उडान भर्न भने सहमति जनाएको बताइन्छ।

प्राधिकरणले उक्त अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याएसँगै यहाँ उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई छुट पनि दिँदै आएको छ। प्राधिकरणका अनुसार यस विमानस्थलमा अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क र सुरक्षा जाँच शुल्कमा शत प्रतिशत छुट छ। यस्तै ग्राउन्डह्यान्डलिङमा पनि ५० प्रतिशत छुट छ। विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको छ।

विमानस्थल सञ्चालनमा आएको ५ महिनासम्म पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी इच्छुक नदेखिपछि प्राधिकरणले राष्ट्रिय ध्वाजाबाहक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई बाध्यकारी निर्देशन पनि दिएको थियो। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक रूपमा तीनभन्दा बढी उडान गर्ने सबै अन्तर्राष्ट्रिय विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो।

नेपाल एयरलाइन्सले भैरहवाबाट उडान सुरु गर्न सकेन भने हिमालय एयरलाइन्सले चार्टर्ड उडान भए पनि गरेको थियो। अहिले हिमालयको चार्टर्ड उडान बन्द छ। नेपाल एयरलाइन्सले पनि भारतको दिल्ली र मलेसियामा साताको १ उडान गर्ने तयारी गरेको एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए। जेठ २९ गतेबाट साताको एक पटक काठमाडौं–क्वालाम्पुर– काठमाडौं उडान सुरु हुने पौडेलले जानकारी दिए।

बौद्धमार्गी देश कम्बोडिया र म्यानमारले पनि यहाँ उडान भर्ने चासो देखाएका छन्। म्यानमारको डेलिगेशन समुह नै आएर छलफल गरेको विमानस्थल प्रमुख हंसराज पाण्डे बताउँछन्। पहिला चार्टर्ड उडान गर्ने भनेको उक्त विमान कम्पनीले पछि नियमित उडान गर्ने आशा विमानस्थलको छ। यो विमानस्थल सञ्चालनमा आएसँगै हंगेरीको वायु कम्पनी विज एयरले आबुधाबी–काठमाडौं उडान भर्ने भनेको थियो। तर, धेरै सर्त राखेपछि प्राधिकरणले पूरा गर्न सकेन र उक्त उडान पनि सुरु भएन।

योबाहेक प्राधिकरणसँग विमानस्थललाई थप स्वचालित कसरी गराउने भन्ने व्यापारीक योजना भने केहि छैन।

प्राविधिक रूपमा त्रिभुवन विमानस्थल सरह नै गौतमबुद्ध विमानस्थल सक्षम भएपनि आकर्षित भने हुन सकेको देखिँदैन। वायु कम्पनीले बजार सुनिश्चित भएको ठाउँमा मात्र उडान भर्ने हुँदा अहिलेलाई गौतमबुद्धमा बजार नदेखेर नै उडानको इच्छा नदेखाएको सहायक प्रवक्ता भूल बताउँछन।

निर्माण सुरु भएको ८ वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यवसायिक उडान सुरु भएको थियो। २०७१ साल माघमा शिलन्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडानलगायत सबै काम सम्पन्न भएको हो। 

अन्तर्राष्ट्रिय उडान भर्ने जहाजहरूका लागि विकल्प अवतरणका लागि गौतमबुद्ध विमानस्थललाई लिन सक्ने पनि भनिएको थियो। तर, एक वर्षमा कुनै पनि अन्तर्राष्ट्रिय जहाज डाइभर्ट गरेर गौतमबुद्धमा अवतरण गरेनन्, उनीहरूको रोजाइ भारत नै पर्यो।


    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.