सही माग समयमा सम्बोधन नगरे जनता अब आफैं जाग्छन्

सही माग समयमा सम्बोधन नगरे जनता अब आफैं जाग्छन्

भर्खर सत्याग्रह सफल पार्नुभएको छ तपार्इंको स्वास्थ्य अवस्था कस्तो छ ?

अहिले स्वास्थ्य अवस्था ठीकै छ। भर्खर बर्दियाबाट काठमाडांै आएर ग्रान्डी हस्पिटलमा चेकअप भइरहेको छ। अहिले सम्मको सबै राम्रै छ। ठीकै छ। अनशन तोकेपछि तत्काल बर्दिया अस्पताल गुलरियामा चेकजाँच गराएको थिएँ। थप उपचारका लागि अस्पतालले सुझाव दिएपछि काठमाडौं आएको हो।

तपाईं बहालवाला सरकारकै सांसद हुनुहुन्छ। संसद्मै बसेर माग पूरा हुँदैनथ्यो ? सत्याग्रह नै किन रोज्नुभयो ?

सत्यका लागि आग्रह गर्नुनै सत्याग्रह हो। सत्याग्रहको माध्यमले मैले संसद्लाई प्रभावकारी बनाउने बाटो रोजेको हुँ। मैले सरकारलाई जिम्मेवार बनाउने र संसद्लाई प्रभावकारी बनाउने मेरो उद्देश्य हो। मलाई के लाग्यो भने संसद् त्यति प्रभावकारी हुन सकेन। भूमिका गौण भयो।

संसद्मा बारम्बार कुराको उठान गर्दा पनि सरकारले सुनेन। सरकार अलि संसद्प्रति उत्तरदायी बनाउनुपर्छ र संसद्लाई अलिकति जिम्मेबार पनि बनाउनुपर्छ भन्ने मेरो प्रयास हो। मलाई के लाग्छ भने यो सत्याग्रह अनशनको माध्यमद्वारा मैले मेरा कुरा जनताका बीचमा राम्रोसँग राखेको छु।

अनशनका क्रममा आफ्नै पार्टी, अन्य दललगायत स्थानीयबाट कस्तो सहयोग पाएको महसुस गर्नुभएको छ ?

मलाई सबै तह र तप्काबाट सहयोग प्राप्त भएको छ। निर्वाचित स्थानीय तहका साथीहरूबाट सहयोग भयो। आफ्नै पार्टी भित्रका, पार्टी बाहिरलगायतका साथीहरू, नागरिक समाज, बुद्धिजीवी, निजीक्षेत्र, पत्रकार सबैले सहयोग गर्नुभयो। मैले सत्यका लागि आग्रह गरेको अभियान सार्थक भयो। सफल भयो भन्ने मलाई लागेको छ।

अनशनमा उठाइएका मागहरू राज्यले स्वतः गर्नुपर्ने थिएन र ?

स्वतः गर्नुपर्ने थियो, मैले यो अनसनमा मात्र उठाएको थिएन। बारम्बार संसद्मा पनि उठाइसकेको थिंए। मैले जब्दीको पुललाई एउटा स्थान मात्रै तय गरेको हो। यो कुरा मैले बारम्बार पार्लियामेन्टमा ५/७ वर्षदेखि उठाउँदै, लड्दै आइरहेको हो।

सबैलाई थाहा छ, बर्दिया कसरी समस्याग्रस्त छ, कसरी राष्ट्रिय राजनीतिबाट पछाडि परेको छ भन्ने कुरा। म बर्दियाबाट बारम्बार चुनाव जितेर काठमाडांै आइसकेपछि मैले बर्दियाका समस्यालाई उठाउने प्रयास गरें। उठाएँ पनि। तर, राज्यले मेरो भाषा बुझेन, मेरो कुरा सुनेन। जति सुन्नुपर्ने थियो, महत्व दिनुपथ्र्यो मलाई महत्व दिए जस्तो लागेन। मलाई के लाग्यो भने यो कुराको उठान जसरी पनी गर्नुपर्छ होइन भने बर्दियाका जनताले दुःख पाउँछन्, समृद्धिमा बर्दिया पछि पर्छ। 

फेरि पनि बर्दिया डुवानमा पर्छ। यसपालिकै बेमौसमी वर्षामा कत्रो समस्या आयो। असारको वर्षामा त बर्दियाका हजारौं साथीहरू विस्थापित भएर जान्छन्। ठीक समयमा ठीक कुरा उठाउनु मेरो दायित्व हो भन्ने लागेरै मैले यो अभियान चालेको हुँ ।

तपाईंले सत्याग्रहका क्रममा उठाएका जब्दी पुल बाहेकका अन्य मुद्दा के हुन् ?

बर्दियाका १५ वटा मुद्दाहरू मैले उठाएको थिएँ। यसले बर्दियालाई मात्र प्रतिनिधित्व गर्दैन, पूरा देशलाई नै प्रतिनिधित्व गर्छ। बाढीपीडितलाई भूकम्पपीडित सरहको मान्यता दिने कुरा सुशील कोइराला प्रधानमन्त्री भएका बेला नेपाली कांग्रेसको सरकारले नै निर्णय गरेको हो। हामीले नै यो कुरा सदनमा उठाएका थियौं। त्यो कुरा निर्णय पनि भएको थियो। तर, अहिलेसम्म कार्यान्वयन हुन सकेन। बाढीपीडितहरू चाहे पूर्वका हुन् चाहे पश्चिमका हुन् ती सबै नेपाली नागरिक हुन्। तिनीहरूलाई त्यही सरहको व्यवहार गर्नुपर्छ भन्ने मेरो मान्यता हो। 

यस्तै मध्यवर्ती क्षेत्रका जनता पीडित छन्। चाहे त्यो बर्दियाका हुन्, चाहे चितवन, परासी, चाहे झापाका भन्नुस् हरेक ठाउँ हेर्नुस् मध्यवर्ती क्षेत्रका जनताको जीउधनको सुरक्षा छैन। यो कुराहरूलाई पनि मैले प्राथमिकताका साथमा उठाएको छु। यो कुराहरूमा पनि राज्य गम्भीर बन्नुपर्छ भन्ने मेरो दृष्टिकोण हो। 

देश भ्रष्टाचारले गाँजेको छ। जताततै भ्रष्टाचार मौलाएको छ। अब अति भइसकेको छ। भ्रष्टाचार निर्मूल पार्ने कार्यलाई मैले मुद्दाको रूपमा उठान गरेको छु। यसलाई अन्त्य गर्न पनि मैले अभियानमार्फत उठान गरें र गर्छु पनि। हेर्दा मैले बर्दियाको जब्दीघाट पुलमुनि अनशन बसे, बर्दियाको माग उठाए तर मैले मुलुकभरिकै मुद्दा उठाएको हो।

सरकारले तपाईंका मुद्दा त शून्यो, कार्यान्वयनमा कत्तिको ढुक्क हुनुहुन्छ ?

सरकारले प्रतिबद्धता ब्यक्त गरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मन्त्रीज्यूले सत्याग्रह स्थलमै आएर प्रतिबद्धता ब्यक्त गर्नुभएको छ। 

मसँग बारम्बार कुरा हुन्छ। मुखले हुँदैन, कसैले भन्दैन। कामले कसैले गर्दैन। यही भएरै मैले यो काम गर्नु परेको हो। मुखले हुन्छ भनेरै काम भैदिएको भए यति ठूलो जिद्दी गर्नुपर्ने आवश्यक नै थिएन। 

  • बर्दियाबाट बारम्बार चुनाव जितेर काठमाडौं आइसकेपछि मैले जिल्लाका समस्यालाई उठाउने प्रयास गरें। उठाएँ पनि। तर, राज्यले मेरो भाषा बुझेन, कुरा सुनेन।
  • बाढीपीडितलाई भूकम्पपीडित सरहको मान्यता दिनुपर्छ। यो माग त देशकै माग हो नि। 
  • हाम्रो भविष्य मैले निर्धारण गरेका १५ बुँदे मागभित्रै लुकेको छ। यसबाटै समृद्धिको नयाँ यात्रा तय गर्न सक्छौं। 

मलाई थाहा थियो, रुलिङ पार्टीको सांसद हुँ। नेपाली कांग्रेस सरकारमा छ। हामी पनि सरकारमा सामेल छौं। यो बेलामै मैले यो बाटो किन रोंजे भन्ने कुरा प्रश्न उठ्नु स्वाभाविक हो। यो मेरो एउटा जनप्रतिनिधिका नाताले, सांसदका नाताले यो मेरो बाध्यता हो। यसबाट मैले देशभरिमा एउटा सन्देश दिन खोजेको हुँ। त्यो सन्देस बुझ्नेले कसरी बुझ्छन्, देख्नेले कसरी देख्छन्, कार्यान्वयन गर्नेले कसरी गर्छन् त्यो पनि उनीहरूको पार्ट हो। 

तपाईंका माग सरकारले कार्यान्वयन नगरे के गर्नुहुन्छ ?
मलाई गर्छ भन्ने विश्वास छ। अहिले त्यति नकारात्मक ढंगले नसोचौं। म यो सरकारलाई खबरदारी गरेको छु। जनतालाई सचेत गराएको छु। मलाई के लाग्छ भने–  अब पनि सरकारले जनताका माग सम्बोधन गरेन भने जनता आफैं जाग्छन्।

पछिल्लो समय बन्द हड्ताललाई माध्यम बनाएर माग पूरा गर्ने होडबाजी चलेका बेला तपाईंले आफ्नै ज्यानको बाजी थापेर माग पूरा गराउनुभयो यो कसरी सम्भव भयो ?

यो त सबभन्दा सशक्त माध्यम हो। लोकतन्त्रमा सत्याग्रह सबैभन्दा ठूलो माध्यम हो। तपार्इंलाई थाहा छ, ठूलाठूला क्रान्तिहरू यसै बाटोबाट सम्पन्न भएका छन्। गान्धीजीले त्यत्रा त्यत्रा परिवर्तनहरू गर्नुभयो। यही बाटोबाट अंग्रेजहरूलाई झुकाउनुभयो। यहीबाट बीपीले पनि परिवर्तन ल्याउने प्रयास गर्नुभएको हो। मैले पनि हाम्रो नेताहरूको चेतनाको बिर्को खुलोस् भन्ने कोसिस गरेको हुँ।

बर्दियाको समग्र बिकासमा १५ बुँदे मागले मात्र पुग्छ ? थप योजनाहरू के बनाउनु भएको छ ?

मैले उठाएका मागहरू आधार हुन्। चाहे नाकाको कुरा होस्, चाहे भुरिगाउँ तेलपानी सुर्खेत सडकको कुरा होस्। चाहे त्यो नदी तटबन्धन, गौरवको बबई सिँचाइ आयोजना समयमै सम्पन्न गर्नुपर्छ भन्ने कुरा होस्, चाहे त्यो जब्दीको पुल, मध्यवर्तीका जनता, बाढी नदी कटानको कुरा होस् यो मेरो मात्रै बर्दियाको मात्रै कुरा होइन यो मुलुकको राष्ट्रिय आवश्यकतासँग जोडिएको छ। 

यसमा नेतृत्व पक्ती सरकार गम्भीर हुनुपर्छ भन्ने नै हो। मलाई विश्वास छ, सरकारी पक्षले मसँग आएर सम्झौता गरेर अनशनलाई तोडिसकेपछि अब यसमा सरकार गैरजिम्मेदार हुँदैन भन्ने विश्वास लिएको छु।

बर्दियावासीलाई के भन्नुहुन्छ ?
बर्दियाबासीलाई म के भन्न चाहान्छु भने तपाईंका जनप्रतिनिधिका नाताले म आज संसद्मा छु। संसद्मा पनि मैले हरेक कुरालाई आवाज उठाएको छु। 
भर्खरै सत्याग्रहबाट पनि आएँ। तपाईंहरू सचेत र जागरुक हुनुहोला जहिले पनि म लगायत सम्बन्धित निकायलाई खबरदारी गर्न नचुक्नुहोला।

हाम्रो भविष्य मैले निर्धारण गरेका १५ बुँदे मागभित्रै लुकेको छ। यसबाटै समृद्धिको नयाँ यात्रा तय गर्न सक्छौं। हाम्रो बर्दियालाई राम्रो बर्दिया बनाउन सक्छौं। मेरो कुराको विस्वास गर्नुहोला भन्न चाहन्छु।

 - प्रस्तुति : यादव आचार्य 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.