दलित समुदायको तथ्यांक सर्वेक्षण गर्दै काठेखोला

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकाले दलित समुदायको तथ्यांक सर्वेक्षण सुरु गरेको छ । गाउँपालिकाको आयोजना र गाउँपालिकास्तरीय स्थानीय दलित समन्वय समितिको सहयोगमा पालिकाभरी रहेका दलित समुदायहरूको तथ्यांक सर्वेक्षण गर्न सुरू गरेको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताए ।
‘जातिय विभेद विरुद्धको जागरण,सामाजिक एवं आर्थिक सशक्तिकरण हाम्रो अभियान’भन्ने नाराका साथ पालिकाभित्र रहेका दलितहरूको जनसंख्या,रोजगार,बेरोजगार,आर्थिक अवस्था र पालिकाप्रति उनीहरुले चाहेको कार्यक्रमको बारेमा तथ्यांक संकलन सुरु गरिएको गाउँपालिका स्तरीय स्थानीय दलित समन्वय समितिका संयोजक पूर्णमाया सुनारले बताइन् ।
गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका दलित समुदायको आर्थिक,सामाजिक एवं सांस्कृतिक अवस्थाको स्थिति कस्तो रहेको छ भन्ने बारेमा तथ्यांक सर्वेक्षण गर्न जेठ ५ गतेदेखि वडा–वडामा गणकहरू पुगिसकेको संयोजक सुनारले बताइन् ।
तथ्यांक सर्वोक्षणमा दलित समुदायको लागि आगामी दिनमा गर्न सकिने हकहित,अधिकार र कल्याणको लागि के कस्ता योजना र कार्यक्रम गर्न सकिन्छ बारेमा समेत सुझाव संकलन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विकले बताए ।
उनले सर्वेक्षणमा दलित समुदायको लागि पालिकामार्फत् कस्ता योजनाहरु संचालन गर्नुपर्छ भन्ने प्रश्नहरु समेत समावेश गरेको बताउँदै प्रतिवेदनबाट आएका सुझाव अनुसार आगामी वर्षदेखि योजना र कार्यक्रम बनाएर संचालन गरिने बताए ।
सर्वेक्षण पश्चात निर्माण हुने प्रतिवेदन पालिका,समितिमा रहने र अध्ययन र सामुदायिक विकासको लागि प्रयोग गरिने समितिका संयोजक सुनारको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
