जेठ १ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता अझै अनिश्चित

जेठ १ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता अझै अनिश्चित
सुन्नुहोस्

विराटनगर : यही जेठ १ गतेदेखि हुने भनिएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता अझै सुरु हुन सकेको छैन। 

जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्न लागिएको प्रतियोगिता कोशी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेबीचको विवादका कारण अन्योलमा परेको हो।

प्रतियोगिता आयोजना हुने भएपछि  हतार हतार गरेर ओखलढुंगामा रंगशाला तयार गरिएको थियो। प्रतियोगितामा सहभागिताका लागि १४ वटै जिल्लाले खेलाडी छनोटको प्रक्रिया अघि बढाए। तर जेठ १२ गतेसम्मम प्रतियोगिता हुने नहुने अन्योल छ। जिल्ला तहको तयारी पनि रोकिएको छ। 

‘हामीले सबै तयारी पुरा गरिसकेका थियौं, तर प्रदेश सरकारले खेलकुद विकास बोर्डको खाता रोक्का गरेपछि प्रतियोगिता रोकियो,’ जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रवीण श्रेष्ठले भने,‘ अब प्रतियोगिता हुने नहुने टुङ्गो छैन।’

जेठ १३–१५ सम्म झापामा कोशी प्रदेश स्तरीय ‘मिस्टर कञ्चनजंगा’ शारीरिक सुगठन प्रतियोगिता सञ्चालन गर्ने तयारी थियो। मन्त्रालय र बोर्डबीच विवादका कारण बजेट रोकिएपछि आयोजकले यो प्रतियोगितालाई जेठ २५–२६ गतेका लागि सारेको छ।

‘प्रतियोगिता आयोजनाका लागि हाम्रो १० लाख जति खर्च भइसक्यो, तर खेलकुद बोर्डको खाता रोक्का भएपछि प्रतियोगिताको मिति नै सार्नुपर्‍यो,’ आयोजक संस्था बडी ग्यारेज फिटनेशका सञ्चालक राम दाहाल भन्छन्,‘ बजेट नदिएपछि मन्त्रीलाई भेट्यौं, विनियोजन भइसकेको बजेट दिने आश्वासन पाएका छौं।’ सबै तयारी पूरा भएपनि प्रदेशले दिने १५ लाख बजेट रोकिएपछि  प्रतियोगिताको मिति सारिएको उनले बताए।  

फुटबल र  शारीरिक सुगठन प्रतियोगिता मात्रै होइन्, वैशाख दोस्रो साताबाट कोशी प्रदेशमा हुने सबै खेलकुद गतिविधि रोकिएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र प्रदेश खेलकुद बोर्डका सदस्यसचिव हंशराज वाग्लेबीचको विवादका कारण खेलकुद गतिविधि ठप्प भएको हो।

गत वैशाख ५–८ गतेसम्म झापामा आयोजित मुख्यमन्त्री  कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भएपछि खेलकुद गतिविधि ठप्प भएको हो। प्रतियोगिताको उद्घाटनमा  कोशी प्रदेशको नाम नलेखेपछि मन्त्री राजभण्डारी र सदस्यसचिव वाग्लेबीच विवाद भएको थियो। 

सोही  विषयलाई आधार बनाएर   प्रदेश सरकारले खेलकुद बोर्डका सदस्यसचिव  वाग्लेलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण सोधे लगतै बोर्डको बैंक खाता रोक्का गर्यो।  खाता रोक्का भएपछि खेलकुद गतिविधि ठप्प  भएका हुन्।

नाम उल्लेख नगरेको कारण देखाउँदै जेठ ३ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वाग्लेलाई  बर्खास्त गरेको थियो। बर्खास्तीको विरुद्ध वाग्ले उच्च अदालत पुगेका छन्। वाग्लेलाई तत्काल नहटाउन अल्पकालीन आदेश दिएको अदालतले दुवै पक्षलाई  जेठ २२ गते बोलाएको छ।

अदालतको अल्पकालीन आदेशपछि काममा फर्किएका वाग्ले खेलकुद प्रतियोगिता रोकिएको बताउँछन्। प्रतियोगिता सञ्चालनका लागि आफू तयार रहेको उनले बताए। ‘मलाई स्पष्टीकरण सोधेर प्रदेश सरकारले बैंक खाता रोक्का गरेको छ, मन्त्रालयले नै चलाएर भएपनि निश्चित भएका प्रतियोगिता होस्,’ उनले भने,‘ खेलकुद गतिविधि ठप्प हुन दिनु हुँदैन।’ 

कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी खेलकुद बोर्डको खाता रोक्का भएका कारण खेलकुद गतिविधि ठप्प भएको स्वीकार गर्छन्।  सदस्यसचिव वाग्लेले बदमासी गरेर  प्रतियोगितामा प्रदेशको नाम नलेखेपछि कारबाही गरेको बताउँदै उनले खाता सुचारु गरी प्रतियोगिता सञ्चालन गर्ने बताए।  ‘लेखापाल र सदस्यसचिवको हस्ताक्षरमा खाता चल्ने रहेछ,  सदस्यसचिव कारबाहीमा परेपछि विकल्प के रहन्छन् भनेर कानुनी परामर्श गर्छौं,’ उनले भने, ‘हामी  कुनै  प्रतियोगिता रोक्ने पक्षमा छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.