चरा ठोकिएको आशंकामा बैंगलुरु उडेको जहाज काठमाडौं फर्कियो
काठमाडौं : भारतको बैंगलुरुका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोकिएको आशंकामा काठमाडौं फर्किएको छ।
काठमाडौंबाट बैंगलुरु उडेको निगमको उडान नं २२५ को न्यारो बडी ‘ए’३२० जहाज उडेको २५ मिनेटमै पुनः काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाजमा चरा ठोकिएको आशंका गरिएको छ । 'जहाज विमानस्थलबाट उड्ने क्रममा चरा ठोक्किएको भन्ने आशंकामा काठमाडौं ‘डाइभर्ट’ भएको छ, ‘सस्पेक्टेट बर्ड हिट’ भनिएको छ, अहिले प्राविधिक टोलीले जहाजको परीक्षण गरिरहेका छन्,' प्रवक्ता सिटौलाले भने।
जहाज दिउँसो १ बजेर ४५ मिनेटमा बैंगलुरुका लागि उडेको थियो। विमानस्थलबाट ४० माइल पुगेर ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) ‘एप्रोच’ लिएर जहाज दिउँसो २ बजेर १० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। सो जहाजका यात्रुलाई अर्को जहाजमार्फत गन्तव्य लैजाने तयारी भइरहेको पनि विमानस्थलले जनाएको छ।