सभामुखले गरे पूर्व सांसद पण्डितको सालिक अनावरण
नुवाकोट : नुवाकोटको कम्युनिष्ट र शैक्षिक आन्दोलनका अगुवा गणेश पण्डितको सालिक अनावरण गरिएको छ।
सभामुख देवराज घिमिरेले शनिबार दुप्चेश्वर गाउँपालिका-६ को रामती बजार पुगेर पण्डितको सालिक अनावरण गरेका हुन्। स्व. पण्डित नुवाकोट २ का पूर्व सांसद समेत हुन। पण्डित २०४८ सालको आम निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका हुन्।
पण्डितको गत २०७५ साल फागुन २१ गते हृदयघातका कारण ७३ वर्षको उमेरमा निधन भएको थियो। सभामुख देवराज घिमिरेले सालिक अनावरण गर्दै आफूले संगत गरेका स्व. पण्डित एक दूरदर्शी, किवास र शिक्षाप्रेमी व्यक्तित्व भएको बताए। उनले पण्डितको जीवनकालमा भएका योगदान अतुलनीय रहेको पनि बताए।
सभामुख घिमिरेले नयाँ पुस्ताका लागि स्व. गणेश पण्डितले गरेको शिक्षा, सामाजिक अन्य विकासको योगदान प्रेरणाको पुन्ज भएको समेत बताए।
केन्द्रले १६ लाख रुपैयाँ खर्च गरेर पण्डितको सालिक निर्माण गरेको हो। २००३ सालमा नुवाकोटको शिखरबेंसीमा जन्मिएका पण्डितको सामाजिक तथा राजनीतिक यात्रा आफ्नो घरबाटै ऋणीहरूको तमसुक च्यातेर विद्रोह गरेपछि सुरु भएको उनका समकक्षीहरू बताउँछन्।
आफ्ना पिताले गाउँमा गरिबलाई ऋण दिएको तमसुक च्यातेर राजनीतिक तथा सामाजिक अभियन्ताको परिचय दिँदै हिँडेका पण्डितको नुवाकोटको वाम राजनीति र शैक्षिक अभियानमा अतुलनीय योगदान रहेको उनका समकक्षीहरूको भनाइ छ।