मदन भण्डारी कप खुला बास्केटबल जेठ १५ देखि

काठमाडौं : मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ६ टिम गरि कुल २२ टिमले सहभागिता जनाउने छन्।
प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुने शनिबार भएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए।
पहिलो संस्करणमा यू–२३ स्तरको प्रतियोगिता आयोजना गरेको एकेडेमीले यस वर्ष महिला र पुरुष दुवैको खुला प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा पुरुषतर्फ सुरुका दुई राउड खेल सिधै नकआउटका आधारमा खेलाइनेछ। १६ टिमबाट आठ र आठ बाट ४ टिमको छनोट हुनेछ।
र, नकआउटमा उत्कृष्ट प्रदर्शन गरेको एक टिमलाई छनोट गरेर ५ टिम बनाई राउन्ड रोबिन पद्धतिमा बाँकी खेल हुनेछ।
महिला तर्फ ६ टिम मात्रै भएकाले सिधै राउन्ड रोबिन पद्धतिमा खेल हुनेछ। शिर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार पाउनेछन्। भने, उप–विजेताले ५० हजार प्राप्त गर्नेछन्।
प्रतियोगितामा पुरुषतर्फ ड्रिम टिम, आर्मी, शंकरदेव क्याम्पस, कीर्तिपुर बास्केटबल टिम, गोल्डेन गेट इन्टरनेस्नल कलेज, बज्र कलेज, रोयल, जेभियर इन्टरनेस्नल कलेज, बुढानिलकण्ठ बास्केटबल क्लब, मनास्लु वोल्ड बलेज, टाइम्स इन्टरनेस्नल कलेज, सिफल, नखिपोट गुथ क्लब, थापाथली इन्जिनियरिङ कलेज र डाउन टाउन स्पोर्टस सेन्टर को सहभागिता छ।
यस्तै, महिला तर्फ ललितपुर हाइट, मदन भण्डारी स्पोर्ट्स एकेडमी, कीर्तिपुर बास्केटबल टिम, बुढानिलकण्ठ बास्केटबल क्लब, धरान बास्केटबल एसोसिएसन र रोयल छन्।
प्रतियोगितामा टिमहरूले विदेशी खेलाडी पनि राख्न पाउनेछन्। प्रतियोगिता आयोजना गर्न २५ देखि ३० लाख खर्च लाग्ने आयोजकको अनुमान छ।
प्रतिक्रिया दिनुहोस !
