कोसी प्रदेश : सरकार र बोर्डबीचको टकरावले खेलकुद क्षेत्र प्रभावित

जसका कारण तालिकामा राखिएका खेलकुदका विभिन्न ११ वटा कार्यक्रम र प्रतियोगिता प्रभावित बनेको बोर्डले जनाएको छ। त्यसका लागि करिब १ करोड ४० लाख रूपैयाँ बजेट छुट्याइएको थियो।
विराटनगर : कोसी प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डबीचको टकरावले खेलकुदका कार्यक्रम र प्रतियोगिताहरू प्रभावित बनेका छन्।
दुई पक्षीय विवादले तयारी तीव्र बनाइएका र सम्पन्न भइसकेका प्रतियोगिताको आयोजना अनिश्चित हुँदा खेल गतिविधि ठप्प छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले बोर्डको बैंक खाता रोक्का गरिदिएको छ। जसका कारण तालिकामा राखिएका खेलकुदका विभिन्न ११ वटा कार्यक्रम र प्रतियोगिता प्रभावित बनेको बोर्डले जनाएको छ। त्यसका लागि करिब १ करोड ४० लाख रूपैयाँ बजेट छुट्याइएको थियो।
प्रदेशको खेलकुद क्षेत्र सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारी र बोर्डका सदस्य सचिव हंशराज वाग्लेबीचको विवादको कोपभाजनमा परेको छ। ‘दुई पक्षबीचको विवादले खेलकुदका गतिविधि ठप्प भए,’ खेलकुदका एक पदाधिकारी भन्छन्, ‘राजनीतिक र व्यक्तिगत स्वार्थसँग खेल क्षेत्रलाई जोड्नु सरासर गलत हो।’
ओखलढुंगामा जेठ १ गतेदेखि ७ गतेसम्म मुख्यमन्त्री कप फुटबल आयोजनाको तयारी गरियो। प्रतियोगिताका लागि १४ वटै जिल्लाबाट खेलाडी छनोट गरिएको थियो। चाँडो गरेर रंगशाला पनि तयार पारियो। तर, हालसम्म प्रतियोगिता हुन सकेन।
जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रवीण श्रेष्ठले सबै तयारी पूरा भइसकेपछि बोर्डको बैंक खाता रोक्का हुँदा प्रतियोगिता रोकिएको र अन्योलमा परेको जानकारी दिए। ‘प्रतियोगिता हुने वा नहुने भन्ने टुंगो छैन,’ उनी भन्छन्, ‘तत्काल खाता संचालन भइदिए जेठ २० देखि २७ गतेसम्म आयोजना गर्न सकिन्थ्यो।’
भोजपुरमा जेठ ९ देखि ११ गतेसम्म आईटीएफ तेक्वान्डो प्रतियोगिता आयोजनाको तयारी थियो। छुट्याइएको १५ लाख रूपैयाँ बजेट निकासा नहुँदा आईटीएफ तेक्वान्डो अवरुद्ध बन्यो। ‘प्रतियोगिताको सबै तयारी पूरा भइसकेको थियो। तर, आयोजना नै गर्न पाइएन,’ कोसी प्रदेश आईटीएफ तेक्वान्डो संघका संस्थापक अध्यक्ष प्रवीण कार्कीले भने, ‘मन्त्री र सदस्य सचिवबीच मत नमिल्दा यो अवस्था आयो। खेल क्षेत्रलाई निराश बनाउने काम भयो।’
आफूहरूका कारण प्रतियोगिता नरोकिए पनि मन्त्री र सदस्य सचिवबीचको विवादले अन्योलता सृजना भएको उनको भनाइ छ। कार्कीले बजेट निकासा भएर उपयुक्त वातावरण बनेमा आगामी असार १५ सम्ममा प्रतियोगिता सम्पन्न गर्न सकिने जानकारी दिए।
झापामा जेठ १२ र १३ गते (शुक्रबार र शनिबार) कोसी प्रदेशस्तरीय ‘मिस्टर कञ्चनजंघा’ शारीरिक सुगठन प्रतियोगिता संचालनको तयारी गरियो। तयारी पूरा भइसकेको भए पनि बजेट रोकिँदा प्रतियोगिता हुन सकेन। बजेट तत्काल प्राप्त भएमा जेठ २५ र २६ मा आयोजना गर्न सकिने आयोजक संस्था बडी ग्यारेज फिटनेशका संचालक राम दाहालले बताए। ‘तयारीमा नै १० लाख रूपैयाँ खर्च भइसकेको छ। बोर्डको खाता रोक्का भएपछि हामी समस्यामा पर्यौं,’ उनले भने, ‘मन्त्रीलाई भेट्दा बजेट दिने आश्वासन पाएका छौँ। तर, के हुन्छ, टुंगो छैन।’ यस प्रतियोगिताका लागि १५ लाख रूपैयाँ छुट्याइएको दाहाल बताउँछन्।
पूर्वनिर्धारित तालिका अनुसार विराटनगरमा जेठ १७ देखि २१ गतेसम्म राष्ट्रिय सफ्ट टेनिस हुनुपर्ने हो। मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्याम लामाका अनुसार दुई पक्षीय मतभेदले प्रतियोगिता अन्योलमा परेको छ। ‘प्रतियोगिता जेठभित्रमा सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने, ‘तर, पहिलोपटक हुन लागेको प्रतियोगितालाई अवरोध गर्ने काम भयो।’ प्रतियोगिताका लागि बोर्डसँग २५ लाख बजेट माग गरिएको उनले बताए।
‘प्रतियोगितामा ५ वटा प्रदेश र ३ वटा विभागीय टोलीबाट करिब १ सय जना खेलाडी तथा अफिसियल सहभागी गराउने तयारी थियो,’ अध्यक्ष लामाले भने, ‘खेल हुने भनिएपछि १ महिनअघिबाटै तयारी थालेर टोलीलाई पत्राचार गरिसकिएको थियो।’ खाता तत्कालनै खुलेपनि निर्धारित समयमा प्रतियोगिता गर्न गाह्रो पर्ने उनको भनाइ छ। पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा तत्कालीन प्रदेश १ ले सफ्ट टेनिसतर्फ ३ स्वर्णसहित ६ पदक जितेको थियो।
सुनसरीको इटहरीमा जेठ १८ देखि २१ गतेसम्म मुख्यमन्त्री कप महिला राष्ट्रिय भलिबल आयोजना गर्ने तय भएको थियो। तर, सम्भव नहुने जनाइएको छ। त्यस्तै, जेठ २३ देखि २६ गतेसम्म उदयपुरमा बक्सिङ र २६ देखि २९ गतेसम्म इटहरीमा राष्ट्रिय पौडी प्रतियोगिताको आयोजना गर्ने पूर्वनिर्धारित तालिका थियो।
बैंक खाता रोक्का भएकै कारण वैशाख दोस्रो साता यता प्रदेशमा खेलकुद गतिविधि ठप्प छन्। प्रतियोगिता र कार्यक्रम आयोजना हुन नसक्दा छुट्याइएको बजेट फ्रिज हुने अवस्था बनेको छ।
झापामा गत वैशाख ५ देखि ८ गतेसम्म मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताको उद्घाटन गर्दा ब्यानरमा कोसी प्रदेशको नाम नलेखेर प्रदेश १ लेखिएपछि प्रदेश सरकार र प्रदेश खेलकुद विकास बोर्डबीच विवाद बढेको हो। त्यसपछि सरकारले बोर्डका सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोध्यो। सामाजिक विकास मन्त्रालयले बोर्डको खाता रोक्का गरिदियो।
जेठ ३ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकले बार्खास्त गरेपछि वाग्ले उच्च अदालत विराटनगर पुगेका छन्। उनलाई तत्काल नहटाउन अल्पकालीन आदेश दिएको उच्चले दुवै पक्षलाई आगामी जेठ २२ गते बोलाएको छ। यो प्रकरणलाई मन्त्री राजभण्डारी र सदस्य सचिव वाग्लेले ‘इगो’का रूपमा लिएको स्रोतले बतायो।
अदालतको आदेशपछि वाग्ले काममा फर्किएका छन्। तर, खाता रोक्का गरिएकाले खेलकुदसँग सम्बन्धित कार्यक्रम र प्रतियोगिताहरू अवरुद्ध बनेको उनले बताए। ‘खेलकुद प्रतियोगिता आयोजना गर्न बोर्ड तयार छ,’ उनले भने, ‘तर, बजेट निकासा नहुँदा अप्ठेरो पर्यो।’ खेल क्षेत्रलाई चलायमान बनाउन मन्त्रालय आफैँले भए पनि प्रतियोगिताहरू आयोजना गरिदिनु पर्ने वाग्ले बताउँछन्। ‘बोर्डको तालिकामा परेका प्रतियोगिता सम्पन्न गर्न रातारात खटिएर तयारी गरियो। तर, खाता रोक्का भएपछि बजेट नै फ्रिज हुन लाग्यो,’ उनले भने, ‘प्रतियोगिता सम्पन्न गर्ने त कुरै छाडौँ। तयारीमा भएको खर्च व्यवस्थापन नै नहुने अवस्था छ।’
सामाजिक विकास मन्त्री राजभण्डारीले तय भइसकेका प्रतियोगिता सम्पन्न गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको बताए। ‘सदस्य सचिव कारबाहीमा परेपछि खाता रोक्का गरिएको हो। किन कारबाही गरियो भन्ने कुरा थाहै छ,’ उनले भने, ‘अब प्रतियोगिताहरू आयोजना गर्न कसरी खाता संचालन गर्ने भन्ने कानुनी परामर्श गर्दै छौँ। असारको १५–२० सम्ममा भए पनि प्रतियोगिताहरू सम्पन्न गरिने छ।’ सरकार कुनै पनि प्रतियोगिता रोक्ने पक्षमा नरहेको राजभण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस !
