अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका-१६ सूर्योदय टोलबाट लागुऔषधसहित बाराका २१ वर्षीय रबिन कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ नियन्त्रित लागूऔषध डाइजेपाम १ सय ५२ एम्पुल, नुर्फिन १ सय ५२ एम्पुल र फेनारगन १ सय ५१ एम्पुलसहित यादवलाई प्रहरीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका-१६ मा रुपेश लामाको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित फेलाएको हो। हाल फरार रुपेश लामाको प्रहरीले खोजी गरिरहेको छ ।
यता कञ्चनपुरको बेलौरी नगरपालिका-१० कानीखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ९२ मिलिग्रामसहित बेलडाँडी गाउँपालिका-१ बस्ने २१ वर्षीय अर्जुन चौधरीसमेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडासमेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
