
विराटनगर : प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको छ।
आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि कोसी प्रदेशको राजधानी विराटनगर तनावग्रस्त बनेको हो। प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ।
उनीहरू सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरिरहेका छन्। आन्दोलनकारीले हानेको ढुंगा लागेर केही प्रहरी घाइते भएका छन्। घाइतेको संख्या एकिन भएको छैन। प्रदर्शनस्थल तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
अहिले प्रदेशसभा नजिकै प्रदर्शन भइरहेको छ। बिहान प्रहरीले कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधरका ३१ जनालाई पक्राउ गरेको थियो।
प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र पहिचानका आधारमा पुनः प्रदेशको नामकरण गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको समूहलाई प्रहरीले पक्राउ गरेको हो।
कोसी प्रदेशको प्रदेशसभा सचिवालय नजिकको देवकोटा चोकलगायत विभिन्न स्थानबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ।
कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसद (प्रदेशसभा सदस्य)लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए। प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नामकरणविरुद्ध आन्दोलनरत पक्षले बजेट अधिवेशन बिथोल्ने योजनासहित आन्दोलनको तयारी गरेपछि प्रदेशसभा रहेको स्थानलगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरी विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सुरक्षाकर्मीले ब्यारिकेट राखेर पहिचान पक्षधरलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ। आन्दोलन हुने स्थान वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो। नामकरणप्रति असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !
