गलकोट बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा

बागलुङ : बागलुङको गलकोट नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ। बागलुङका दश स्थानीय तहमध्ये गलकोट पहिलो बालमैत्री नगर घोषित भएको हो।
५१ वटा सूचक पूरा गर्दै बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरपालिकाले जनाएको छ। बालमैत्री स्थानीय शासन घोषणा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गरिन्। घोषणा गर्दै उनले बालबालिका भविष्यका कर्णधार भएको बताइन्।
मन्त्री सिंखडाले बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार रहेको बताइन। ‘बालबालिकाको समुन्नति र समृद्धि नै देश विकासको आधार हो, ’मन्त्री सिंखडाले भनिन्,‘बालबालिका संरक्षणको राज्यले गर्नुपर्छ।’
नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार लगायतका ५१ सूचकहरू पूरा गरेर जिल्ला समन्वय समिति बागलुङ तथा गण्डकी प्रदेश सरकारबाट प्रमाणित भएपछि शनिबार बालमैत्री नगरपालिका घोषणा गरिएको नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
बालमैत्री पालिका घोषणाको लागि नगरपालिकाले ११ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ। पालिकाले बालबालिकामैत्री वातावरण निर्माणको लागि सबै वडा र नगरपालिका भित्रका सबै विद्यालयहरूमा बाल समूह गठन गरिएको नगर प्रमुख गैरेले बताए।
२०७७ साल मंसिरमा निर्णय गरेर बालमैत्री नगरपालिका घोषणाको लागि तयारी गरिएको नगरप्रमुख शर्माको भनाइ छ। अभियानको क्रममा नगरपालिकाले १५ वटा बाल विवाहलाई उमेर पुगेपछि गर्ने सर्तमा बालबालिकालाई घरमा फर्काएको र विवाह तोकिएको १ वटा बालविवाह रोकेको नगरप्रमुख गैरेले बताए।
बालविवाह रोक्नको लागि सबै वडाहरूमा घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउने र नगरपालिकामा वडा तहमा बाल क्लब गठन गरी सक्रिय बनाउने काम गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकामा ११ हजार बढी बालबालिका रहेका छन्।
नगर प्रमुख गैरेले बालमैत्री स्थानीय शासन घोषणा गरेर दिगो विकासका लक्ष्य पूरा गर्न अघि बढेको बताए। उनले बालमैत्री स्थानीय शासन दिगो विकासका लागि महत्वपूर्ण भएको बताए। उनले ५१ वटा राष्ट्रिय सूचक पूरा गरेर घोषणा गरेको बताए।
शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन नगरपालिकाले गरेपछि बालमैत्री नगरपालिका घोषणा गरिएको हो। ‘केही पुराना संरचना बालमैत्री छैनन्,’ नगरप्रमुख गैरेले भने,‘सुधार गर्न सक्नेलाई बालमैत्री बनाएका छौं। नयाँ निर्माण गर्ने संरचनाहरू बालमैत्री बन्नेगरी मात्रै नक्सा पास गछौं।’
प्रतिक्रिया दिनुहोस !
