पहिचान पक्षधरको निशानामा स्वास्थ्य मन्त्रालय : मन्त्री लिम्बूले भनिन्, ‘दुवै पक्षबाट असुरक्षित भएँ’

पहिचान पक्षधरको निशानामा स्वास्थ्य मन्त्रालय : मन्त्री लिम्बूले भनिन्, ‘दुवै पक्षबाट असुरक्षित भएँ’
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशको स्वास्थ्य मन्त्रालय पहिचान पक्षधर प्रदर्शनकारीको निशानामा परेको छ। प्रदर्शनकारीले ढुंगामुडा गरेर मन्त्रालयमा क्षति पुर्‍याएका छन्। 

ढुंगामुडा हुँदा मन्त्रालयको झ्यालका शिशा फुटेका छन्। मन्त्रालयको गाडीमा क्षति पुगेको छ। मन्त्री निर्मला लिम्बूको कार्यकक्षमा प्रदर्शनकारीले हानेका ढुंगा थुप्रिएका थिए। मन्त्रालय वरपर रहेका केही घरका शिशा पनि आन्दोलनकारीको ढुंगाले लागेर फुटेका छन्। 

प्रदेशसभाको आइतबार सुरु हुने दोस्रो एवं बजेट अधिवेशन बिथोल्ने उदेश्यसहित आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले विराटनगरमा उग्र प्रदर्शन गरेका थिए। प्रदेशसभा भवन वरपरको सुरक्षा व्यवस्था कडा पारिएको थियो। तर, प्रदेशसभा भवनबाट लगभग ७० मिटरजति पूर्वतर्फ रहेको मन्त्रालय भने आन्दोलनकारीको निशानामा परेको हो। 

प्रदर्शन सुरु गर्दै आन्दोलनकारी मन्त्रालयनजिकको बाटो हुँदै प्रदेशसभा भवनतर्फ अघि बढ्न खोजेका थिए। त्यस क्रममा उनीहरुलाई रोक्न खोज्दा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच दोहोरो झडप भयो। प्रदर्शनकारीले ढुंगामुडा गर्दै आन्दोलनलाई उग्र बनाएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका हुन्। त्यस क्रममा दुवैतर्फका कम्तीमा ५० जना घाइते भएका छन्। 

प्रदेशसभातर्फ अघि बढ्न नपाएका प्रदर्शनकारीले अन्दाधुन्ध ढुंगा प्रहार गर्दा मन्त्रालयमा ठूलै क्षति पुगेको छ। कति क्षति भयोभन्ने बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 
मन्त्री लिम्बूले तोडफोडका कारण मन्त्रालय अस्तव्यस्त भएको गुनासो गरेकी छन्। 
प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य मन्त्रालय आन्दोलनकारी र सुरक्षा निकाय दुवैको निशानामा परेको बताइन्। सुरक्षा दिन नसकेको भने प्रश्न उठाएकी उनले आफू दुवै पक्षबाट असुरक्षित रहेको जानकारी सदनलाई गराइन्। 

‘स्वास्थ्य मन्त्रालय दोहोरो मारमा परेको छ,’ बैठकलाई सम्बोधन गर्दै लिम्बूले भनिन्, ‘प्रदेशको औषधि, खोप तथा स्वास्थ्यसँग सम्बन्धित काम गर्नुपर्ने मन्त्रालयलाई किन सुरक्षा दिन सकिएन ?’ पहिचान पक्षधर भएका कारण सरकारको र सरकारको मन्त्री भएका कारण पहिचान पक्षधरको निशानामा आफू परेको गुनासो उनको छ। 

‘सरकार पक्षबाट अश्रुग्यास प्रहार भएको छ। आन्दोलनकारीले प्रदेश स्वास्थ्य निर्देशनालयको गाडी फुटाइदिएका छन्। मन्त्रालयभित्र तोडफोड गरेका छन्,’ उनले भनिन्, ‘शान्तिपूर्ण आन्दोलनलाई बिथोल्ने काम भयो। मेरो र परिवारको सुरक्षाको जिम्मा कसले लिने ?।’ 

मन्त्री लिम्बूले आफ्नो कार्यकक्षमा गोली हान्ने काम भएको आरोपसमेत लगाइन्। भनिन्, ‘मन्त्रालयभित्र भएको भए मलाई पनि गोली लाग्थ्यो।’ पार्टीको निर्णयअनुसार आफू सरकारमा रहेको उल्लेख गर्दै उनले भनिन्, ‘सरकारबाट गोली ठोक्ने र प्रदर्शनकारीबाट ढुंगा हान्ने काम भएको छ।’ 

लिम्बूले आफू पहिचान पक्षधर हुँदा हुँदै प्रदेशको नामकरणको विपक्षमा आन्दोलनरत पक्षको निशानामा परेको पनि बताइन्। भोलिका दिनमा भैपरि आउने समस्याको जिम्मेवारी कसले लिनेभन्ने जवाफ आफूलाई चाहिएको उनले बताइन्। 

लिम्बूले सुरक्षाको मागसमेत गरेकी छन्। उनी जनता समाजवादी पार्टी (जसपा)को समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी हुन्। ९३ सदस्यीय प्रदेशसभामा जसपाकी उनी एक्लो सांसद हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.