भारत भ्रमणबाट अपेक्षा

भारत भ्रमणबाट अपेक्षा
सुन्नुहोस्

दुईपक्षीय व्यापारमा नेपालको निर्यातलाई वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यकता छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अहिले चर्चाको विषय छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको चार दिवसीय भ्रमणबाट दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धमा प्रगाढता आउनुका साथै आपसी विश्वास पनि बढ्ने अपेक्षा  छ। इतिहास, संस्कृति, परम्परा तथा धार्मिक समानता आदिका कारण नेपाल र भारतबीच सम्बन्ध अटुट तथा अद्वितीय रहिआएको छ। समय–समयमा हुने उच्चस्तरीय, राजनीतिक भ्रमणले आपसी सम्बन्धलाई थप प्रगाढता प्रदान गर्दै आएको छ।

प्रधानमन्त्री  दाहालको भारत भ्रमणलाई सफल बनाउन आवश्यक विमर्श र अभ्यास पनि भएका छन्। भ्रमणका क्रममा लगानी, व्यापार, प्रविधिविस्तार, सीमा, विकास आयोजना निर्माण, अपराध नियन्त्रण तथा अनुसन्धान सहकार्यलगायत विषय दुईपक्षीय वार्तामा प्रमुख मुद्दा हुनेछन्। त्यसबाहेक नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँग डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापार गर्न बाटो खुला, भारतसित २५ वर्षसम्म विद्युत् व्यापार, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास आयोजना, अमलेखगञ्ज–लोथर तथा सिलिगडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता पनि एजेन्डामा रहने सम्भावना छ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा न्यु–मोदी लेखनाथ प्रसारण लाइन उद्घाटन, गोरखपुर प्रसारण लाइन शिलान्यास, दोधारा–चाँदनी एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाहमा समझदारी (एमओयू), नेपालगन्ज एकीकृत जाँच चौकी उद्घाटनको पनि गृहकार्य नेपाली पक्षबाट भएको छ। रक्सौल–काठमाडांै रेलमार्ग निर्माणको विषयले पनि चर्चा पाउने सम्भावना छ। नेपालको लगानी बोर्डको आग्रहमा ६ सय ७९ मेगावाट क्षमताको तल्लो अरुण अद्र्धजलाशयुक्त आयोजनाका लागि भारतीय कम्पनी सतलसँग ऊर्जा विकास सम्झौता पीडीएको मस्यौदा तयार पारिएको छ। तल्लो अरुणमा नेपालले २१.९ प्रतिशत अर्थात् १४८ मेगावाट बिजुली निःशुल्क पाउने छ।

भ्रमणका क्रममा ईपीजी प्रतिवेदनको विषय पनि चर्चा रहने छ। नेपाली युवाहरूको भारतीय सेनामा भर्तीको विषय एक वर्षदेखि अनीर्णित अवस्थामा छ। नेपालले यस विषयमा निर्णय गर्नुपर्ने छ। भारतका लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आमन्त्रित गर्ने सम्भावना पनि छ। 

प्रधानमन्त्री दाहालाको भारत भ्रमणमा विभिन्न विषयमा छलफल हुनुका साथै कतिपय विषयमा समझदारी र सम्झौता हुने सम्भावना छ। नेपाल–भारत कूटनीतिक सम्बन्धको सात दशकभन्दा बढी समय भइसकेको छ। तर, यस लामो सम्बन्धलाई सदुपयोग गर्दै जनहितमा उपयोग गर्नुपर्छ। भारतसँग रहेको परम्परागत बहुआयमिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्छ। परस्पर विश्वासमा आधारित सम्बन्धले देशको प्रगतिमा मद्दत पुर्‍याउन सक्छ। 

चार दिवसीय भारत भ्रमणबाट दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धमा प्रगाढता आउनुका साथै आपसी विश्वास पनि बढ्ने अपेक्षा छ।

नेपाल–भारत दुईपक्षीय व्यापारमा नेपालको निर्यातलाई अझ कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि प्रधानमन्त्रीको भ्रमण केन्द्रित रहनेछ। भारतसित ऊर्जा सम्झौता हुँदा नेपाल ठगिने त होइन ? भन्ने आशंकामा हामीले धेरै समय खेर फाल्यौं। देशले १९ घण्टासम्म लोडसेडिङ भोग्नु पर्‍यो। आखिर नेपाल र भारतवीच विद्युत् व्यापार सम्झौता एवं विद्युत् विकास सम्झौता भएपछि भारतसित बिजुलीको खरिद बिक्री हुन थालेको छ। र, हामी भारतमा बिजुली बिक्री गरेर अर्बौं रुपैयाँ कमाउने अवस्थामा आइसकेका छौं। भोलिका दिनमा हामीले भारतमा बिजुलीको बिक्री गरेर पनि आफ्नो व्यापार घाटालाई कम गर्न सक्छांै। अब त नेपालले बंगलादेशमा पनि बिजुलीको बिक्री गर्न सक्ने भएको छ। हुन त भारतजस्तो विशाल बजार छँदाछँदै नेपालले अन्त बिजुली बिक्री गर्नुपर्ने अवस्था आउने छैन। यद्यपि नेपाललाई भने बिक्री गर्ने यो अधिकार प्राप्त छ र भारत पनि यसमा सकारात्मक देखिएको छ। नेपालले आफ्नो जलसम्पदाको सदुपयोग गर्न सक्यो भने यो पनि धनी राष्ट्र बन्न सक्छ। नेपालको आर्थिक विकासमा यो कोसेढुंगा सावित हुन सक्छ। भारतसँग २५  वर्षको विद्युत् बिक्री सम्झौता हुने सम्भावना छ।

हाल नेपालले भारतीय बजारमा दश जलविद्युत् परियोजनाद्वारा उत्पादित ४ सय ५२ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएको छ। नेपालले जाडो मौसमा भारतबाट खरिद गर्ने गरेको छ। गत सातादेखि नेपालले भारतमा दैनिक ६ सय मेगावाट बिजुली निर्यात गरिरहेको छ। भारतका ऊर्जा निर्माण कम्पनीहरू नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न पनि उत्साहित भएका छन्।  विशेषगरी भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगमले ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु गरेपछि सकारात्मक सन्देश प्रवाहित भएको छ। माथिल्लो कर्णाली आयोजना पनि करिब ९ सय मेगावाट क्षमताकै छ। भारतीय कम्पनी एनएचपीसीले पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तयार हुनु खुसीको कुरा हो। जुन देशमा विद्युत्को विकास भएको हुन्छ, त्यस देशले आर्थिक प्रगति गर्न बढी समय लाग्दैन। नेपालको पानी दक्षिण एसियाका निम्ति वरदान सावित हुन सक्छ। नेपालको आर्थिक विकासको साथी पनि सावित हुन सक्छ।

नेपालको ७७ मध्ये ७५ जति जिल्लाहरू भारतीय अनुदान सहयोगका विकास कार्यक्रम  भएका छन। यद्यपि मित्रताको मापदण्ड केवल लेनदेन मात्रै हुन सक्दैन। तथापि भारतले प्रत्येक संकटको घडिमा सहयोग गर्न अग्रसरता देखाएको छ। वि.स. २०७२ सालको महाविनाशकारी भूकम्प होस अथवा कोभिड–१९ को संक्रमणको अवस्था, भारतको सहयोग अग्रणी र महत्वपूर्ण छ। प्रत्येक राजनीतिक परिवर्तनमा भारतको सहयोग महत्वपूर्ण रही आएको छ। भारतसित नेपालको रोटीबेटी संस्कृतिको सम्बन्ध मात्रै छैन। अपितु क्रान्ति राजनीतिक र भ्रातृत्व तथा अपनत्वको सम्बन्ध पनि रही आएको छ। नेपाल र भारतबीच ९९ प्रतिशत ठाउँमा बैज्ञानिक प्रविधिद्वारा सिमाङ्कन भई सीमा स्तम्भ गाड्ने काम भइसकेको छ। नदीको प्रवाहका कारण केही ठाउँमा देखिएका समस्याको समाधान पनि सजिलै सम्भव छ। नाप, नक्सा र प्रमाण भएकाले भूभागको उपयोग गर्न पाउने मान्यता छ। 

त्यसो त दुई देशबीचको सम्बन्धलाई धेरै कुराले प्रभावित गरिरहेको हुन्छ। एकअर्काको आवश्यकता, भावना र संवेदनशीलताको सम्मान गर्नु पनि परराष्ट्र नीतिकै हिस्सा मानिन्छ। राजनीतिक लाभ हानीको उद्देश्यले अनावश्यक रुपमा भ्रम सिर्जना गरी मैत्री सम्बन्धलाई कमजोर गर्ने प्रयास गर्नु ठीक होइन। प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको घनिष्ट सम्बन्धलाई बलियो बनाउने निश्चित छ। सांस्कृतिक सम्बन्ध विस्तारमा पनि जोड दिन आवश्यक देखिन्छ। किनभने, हामी धर्म, संस्कृति, परम्परा र मान्यताका साझा उपासक र बाहक हौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.