कांग्रेस नेतृ मीना पाण्डेको निधन
काठमाडौं : नेपाली कांग्रेसको नेतृ मीना पाण्डेको निधन भएको छ। पूर्वमन्त्री तथा पूर्वसभासद समेत रहेकी पाण्डेको ७२ वर्षको उमेरमा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सर्लाही क्षेत्र नम्बर २ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे पछिल्लो प्रतिनिधिसभाको समानुपातिक सांसद हुन्।
वि.सं. २००८ सालमा जन्मिएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी हुन्। तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य रहेकी पाण्डे २०४८, २०५१ र २०७४ मा प्रतिनिधि सभा सदस्य हुन्।
उनी वि.सं. २०६४ मा संविधान सभा सदस्य बनेकी थिइन् । उनी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको दुई पटक सभापति भएकी थिइन्। नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका क्रममा उनले पटक–पटक जेल जीवन समेत व्यतित गरेकी थिइन्।
उनको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी महिला नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको जनाएको छ। पाण्डेको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।