समर्थनसहित कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा

समर्थनसहित कोसी प्रदेश सरकारबाट बाहिरियो जसपा
जसपाबाट सरकारमा सहभागी बनेकी प्रदेशसभा सदस्य निर्मला लिम्बू । तस्बिर :अन्नपूर्ण

विराटनगर :कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै जसपा बाहिरिएको हो ।  नेकपा (एमाले) नेतृत्वको सरकारमा जसपाकी निर्मला लिम्बू स्वास्थ्य मन्त्री थिइन् ।

जसपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने उनी एक्लो प्रदेश सांसद (प्रदेशसभा सदस्य) हुन् । गत पुस २५ गते एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा लिम्बू सहभागी भएकी थिइन् । तर, जसपाको प्रदेश समिति बैठकको निर्णयसँगै उनको मन्त्री पद गुमेको छ । 

जसपा नेता रकम चेम्जोङले बुधबारको बैठकबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । सरकारले समस्या मात्रै बल्झाउने काम गरेको र कुनै पनि निकास दिन नसकेपछि प्रदेश सरकारमा बसिरहनुको औचित्य नदेखिएको उनको भनाइ छ । प्रदेशको नामकरणको विषयले पनि समस्या मात्रै ल्याएको चेम्जोङ बताउँछन् । 

प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेको थियो । कोसी नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलित छन् । प्रदेश नामकरणको विरोधमा जारी आन्दोलनलाई जसपाको पनि समर्थन छ ।

नामकरणविरुद्धको आन्दोलन र प्रदर्शनमा जसपाका नेता कार्यकर्ताको पनि उपस्थिति रहने गरेको छ । सरकारमा पनि रहने र सडकमा भएको आन्दोलनलाई पनि साथ दिने दोहोरो चरित्र देखाएको भन्दै जसपाको आलोचना भइरहेको थियो । चौतर्फी आलोचना खेप्दै सरकारमा बसिरहेको जसपा अन्ततः प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाउने निर्णयमा पुगेको हो । 

सरकारमा सहभागी कुनैपनि राजनीतिक दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्रमा संसद (प्रदेशसभा)बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत प्राप्त गर्न नसके सरकार ढल्छ । केन्द्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपालगायतका दलको सत्ता गठबन्धन छ । कोसी प्रदेशको सत्ता पक्षीय गठबन्धन भने केन्द्रको गठबन्धनविपरीत छ ।

जसपा बाहिरिए पनि माओवादीले भने प्रदेश सरकारलाई दिएको समर्थन हालसम्म यथावत राखेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेका बेला जसपाले भने सरकार छाडेको हो । कांग्रेसको प्रदेश संसदीय दलले माओवादी र जसपालाई सरकार छाड्न दबाब दिइरहेको थियो । एक साताअघि औपचारिक पत्र पठाएरै सरकार छाड्न उसले आग्रह गरेको हो । 
 
कोसी प्रदेशको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३ (सभामुखसहित), राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । 

तर, प्रदेशमा एमाले र राप्रपाका ४६ सांसद छन् । केन्द्रीय गठबन्धनमा रहेका कांग्रेस,माओवादी, एकीकृत समाजवादी, जसपासँग पनि सभामुखबाहेक ४६ सांसद छन् । माओवादीका बाबुराम गौतम सभामुख छन् । दुवैतर्फ बहुमत नपुग्ने भएपछि प्रदेशमा नयाँ सरकार निर्माण असहज हुने देखिन्छ । नयाँ सरकार गठनको खेल सुरु हुँदा प्रदेश मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना रहेको पनि नेताहरूले बताउँदै आएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.