राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लघंन गर्नुभयो : योगेश भट्टराई

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लघंन गरेको बताएका छन् । एमाले सांसद समेत रहेका भट्टराईले अघिल्लो संसदको कार्यकालमा उत्पत्ति भएको र नयाँ संसद आएसँगै निष्क्रिय रहेको नागरिकता विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको उलंघन गरेको बताएका हुन् ।
भट्टराईले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘यो काम सार्वभौम संसदमाथिको नांगो अतिक्रमण हो । संविधानको पालना र संरक्षणको दायित्व रहेको संस्थाले नै संविधानमाथि आक्रमण गर्नु चिन्ताको विषय हो । प्रमाणीकरणसम्बन्धी विज्ञप्तिमा धारा ६१ र ६६ उल्लेख गरिएको छ जबकी विधेयक प्रमाणीकरणको विषय संविधानको धारा १११ र ११३ अनुसार मात्र हुनसक्छ ।’
नेपालको नागरिकता ऐनलाई लिएर विभिन्न आशंका भइरहेको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन यो काम हुनु “चितुवा पनि कराउनु सिंदाली पनि हराउनु” जस्तै भएन र ? भन्दै प्रश्न गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। यसअघि नागरिकता विधेयक संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको थियो। तर, राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी फिर्ता गरिदिएकी थिइन्। त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।
प्रतिक्रिया दिनुहोस !
