भैरहवामा अवतरण गर्न भारतले दियो आईएलएस अनुमति

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस)को प्रयोग गर्न भारतले सहमति दिएको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले भारतले आईएलएस सञ्चालनको सहमति जनाएको बताएका हुन्। आईएलएस प्रयोगमा भारतले असहमति जनाउँदै आइरहेको थियो।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आवश्यक उपकरणमा आधारित अत्याधुनिक प्रणाली आईएलएस प्रयोग गर्दा भारतीय भूमि (एयर स्पेस) छुने हुन्छ। यसका लागि भारतसँग नेपाल नागरिक उड्डयन प्राधिकरणले साझा सम्झौताको सम्बन्धमा पनि छलफल गर्दै आइरहेको छ। नेपाल र भारतले प्रयोग गर्न सक्ने गरी कमन युज अफ एयरस्पेसका लागि गत साता मात्रै पर्यटन मन्त्रालयसहितको प्राधिकरणको प्राविधिक टोली भारत गएको थियो।
धावनमार्गमा जडान गरिएको आइएलएसले खराब मौसम, कम दृश्यता, अँध्यारोको समयमा नै सहजै जहाज अवतरणका लागि मदत गर्छ। आइएलएस सञ्चालनसँगै गौतमबुद्ध विमानस्थल सञ्चालन सहज हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ हवाई रुटको सहमतिको आशा पनि गरिएको थियो। तर, नयाँ रुट दिने सम्बन्धमा भारत सकारात्मक देखिँदैन। प्रधानमन्त्रीको भारत भ्रमणपूर्व पश्चिमतर्फको महेन्द्रनगर हवाई रुटबाट नेपाल छिर्न दिने सम्बन्धमा सहमति आउन सक्ने आंकलन गरिएको थियो। अहिले ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदा नेपाल प्रवेश गर्छन् र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्छन्। तर, २ नयाँ पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि सिमरा लामो रुट पर्छ। यी २ विमानस्थलमा जहाजहरूको आकर्षण बढाउन पनि महेन्द्रनगर हवाई रुटको अनुमति आवश्यक छ। महेन्द्रनगर रुट हुँदै यी विमानस्थलमा अवतरण गर्न करिब २० मिनेट दुरी छोटो पर्ने विज्ञ बताउँछन्।
प्रतिक्रिया दिनुहोस !
