सुनकोशीमा जीप दुर्घटना : सीटीईभीटीका निर्देशकसहित तीनजना बेपत्ता

सिन्धुली : काठमाडौंबाट खोटाङका लागि जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जीपमा सवारी तीनजना बेपत्ता भएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा डीएसपी चिरञ्जीवि दाहालले अन्नपूर्णलाई जानकारी दिए।
जीपमा (सीटीईभीटी) का प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, नीति योजना शाखाका निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवारी रहेका थिए। उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए।
सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले जीप दुर्घटनामा परेको खबर प्राप्त भएको पुष्टि गरे। जीपका चालक कृष्ण चौधरी सुनकोशीबाट निस्कन सफल भएका छन्। उनको स्थानीय खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
खुर्कोट–घुर्मी खण्डमा पिच गर्नेक्रममा ठेकेदारले विच्छाएको गिट्टीमा अनियन्त्रित भइ गाडी चिप्लिएको प्रतक्षदर्शीले जनाएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले जानकारी दिए ।
सडमा राखेको गिट्टी व्यवस्थित नगरिदिँदा त्यस क्षेत्रमा यसअघि पनि आधा दर्जनबढी दुर्घटना भइसकेका छन् । ‘हामीले पिचगर्ने कार्यलाई व्यवस्थित गरी सम्भावित दुर्घटनालाई ख्याल गर्न पटकपटक भनेपनि ठेकेदारले अटेर गर्दा त्यस क्षेत्रमा मोटरसाइकल र गाडीहरू दैनिकजसो दुर्घटनामा परिरहेका छन्,’ उनले भने ।
बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट १५० मिटर तल नदीमा खसेको हो।
प्रतिक्रिया दिनुहोस !
