राष्ट्रिय फुटबल खेलाडी थापा गृह जिल्लामा सम्मानित

बागलुङ : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापा गृह जिल्लामा सम्मानित भएका छन्।
फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै थापालाई बागलुङको फ्युचर ब्राइटर माध्यमिक विद्यालयले बिहीबार सम्मान गरेको हो। थापा विद्यालयका पूर्व विद्यार्थी हुन्।
विद्यालयमा प्राधानाध्यापक बालकृष्ण शर्माले राष्ट्रिय फुटबल खेलाडी थापालाई नगद १० हजारसहित सम्मान गरिएको बताए। फुटबलर थापालाई जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, जिल्ला फुटबल संघका अध्यक्ष जय राजभण्डारी र विद्यालयका प्रधानाध्यापक बालकृष्ण शर्माले थापालाई संयुक्त रूपमा सम्मान गरेका थिए।
कमल राष्ट्रिय टिममा डेब्यू गर्ने बागलुङको पहिलो खेलाडी हुन्। उनले विश्वकप तथा एसियन कप छनोटको खेलमा अष्ट्रेलियासँग खेल्दै राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए।
कमल हाल सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ-मर्स्याङ्दी क्लबबाट खेलिरहेका छन्। मिडफिल्डर पोजिनबाट खेल्ने कमलले ए डिभिजन लिगमा मनाङबाट डेब्यू गोल समेत गरेका छन्।
एन्फाको गोल्डेन ब्याचका खेलाडी समेत रहेका कमलले नेपालको उमेर समूहअन्तर्गत अन्डर-१३ र अन्डर-१६ बाट खेलिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !
