आर्थिक मन्दीको चपेटामा विराट गोल्पडकप, ८७ लाख घाटा

आर्थिक मन्दीको चपेटामा विराट गोल्पडकप, ८७ लाख घाटा
विराट गोल्डकपको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनका सहभागीहरू। तस्बिर : किशोर बुढाथोकी
सुन्नुहोस्

विराटनगर : विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिता विश्व आर्थिक मन्दीको चपेटामा परेको छ। 

मन्दीका कारण आर्थिक स्रोत जुटाउन समस्या हुँदा २ महिनाअघि सम्पन्न भएको गोल्डकपले ठूलो घाटा बेहोर्नु परेको छ। विगतका गोल्डकप प्राय नाफामा हुन्थे। पछिल्लो समय गत चैत ९ देखि १६ गतेसम्म विराटनगरको सहिद रंगशालामा आयोजित गोल्डकपले भने लाखौं रुपैयाँ घाटा सहनु परेको छ। 

राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कोसी प्रदेशकै पहिचानलाई विस्तार गरिरहेको गोल्डकपले ८७ लाख १ हजार ४८ रुपैयाँ नोक्सान बेहोरेको विराट गोल्डकप ट्रष्टले जनाएको छ। ट्रष्टले विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरेर गोल्डकपको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको हो। 

गोल्डकपका सहसंयोजक शुभाशिष कोइरालाका अनुसार प्रतियोगितामा १ करोड ३३ हजार रुपैयाँ आम्दानी र १ करोड ८७ लाख ३४ हजार १ सय ४८ रुपैयाँ खर्च भएको छ। खुद घाटा ८७ लाख १ हजार ४८ हजार रुपैयाँ भएको जानकारी उनले दिए। घाटा रकम सहसंयोजक कोइराला आफैँले बेहोर्ने भएका छन्। 

प्रतियोगिता सञ्चालनका लागि विराटनगर महानगर, कोसी प्रदेशको सामाजिक विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बाट १२–१२ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले बताए। त्यसबाहेक मुख्य प्रायोजकबाट ८ लाख, प्रायोजकबाट ४ लाख, सहप्रायोजकबाट ४ लाख र पार्टनर प्रायोजकबाट ६ लाख ७५ हजार तथा टिकट बिक्रीबाट ४१ लाख ५८ हजार १ सय रुपैयाँ आम्दानी भएको कोइरालाको भनाइ छ। 

आयोजक विराटनगर सीटी फुटबल क्लब प्रतियोगिताको विजेता बनेको थियो। उसले २० लाख १५ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता बनेको विदेशी पाहुना टोली भारतको लुका सकर क्लब केरलाले १० लाख ५१ हजार तथा ट्रफी र प्रमाणपत्र पायो। प्रत्येक दिनको खेलको म्यान अफ दी म्याचलाई ११ हजारसहित प्रतियोगिता अवधिभरको उत्कृष्ट ८ विधाका खेलाडी, टिम र प्रशिक्षकलाई २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको जानकारी कोरालाले दिए। 

पहिलोपटक विराटनगर महानगरपालिकाको संयोजकत्वमा रात्रिकालीन प्रतियोगिता आयोजना गएिको थियो। महानगरका मेयर नागेश कोइराला प्रतियोगिताको संयोजक थिए। मेयर कोइरालाले आर्थिक मन्दीका कारण उद्योग, व्यापार र व्यवसायबाट आर्थिक स्रोत जुटाउन कठिनाइ भएको बताए।

‘विराट गोल्डकप विराटनगरको गहना हो। गोल्डकपलाई सफल बनाउन सबैको अपनत्व हुनुपर्ने थियो,’ उनले भने, ‘तर, सबैतिबाट सोचेजस्तो सहयोग पाउन सकिएन। आर्थिक मन्दीले पनि ठूलो असर गर्‍यो।’

विराटनगर बनाउने कर्तव्य सबैको भएको बताउँदै उनले विराट गोल्डकपजस्ता गहनालाई जोगाएर राख्न र निरन्तरता दिन सक्नुनै ठूलो कुरा भएको उल्लेख गरे। आगामी गोल्डकपलाई घाटारहित बनाउन आआफ्नो ठाउँबाट सहयोग गर्न मेयर कोइालाले सबैलाई आग्रह गरे। ‘हामीबाट पनि केही कमीकमजोरी भए होलान्,’ उनले भने, ‘आगामी दिनमा सुधारेर अघि बढ्ने छौँ।’ 

कोइरालाले आफूहरू विराटनगरलाई बनाउनुपर्छ भन्ने अभियानमा लागेकाले विराटनगरकै गौरवसँग जोडिएको प्रतिष्ठित प्रतियोगितालाई प्राथमिकतामा राखिएको जानकारी दिए। 
गोल्डकप विराटनगर महानगरको सान भएको उनको भनाइ छ। आगामी दिनमा विराट गोल्डकप ट्रष्टलाई भौतिक हिसाबले सुविधा सम्पन्न बनाएर व्यवस्थित तरिकाले प्रतियोगिता आयोजना गरिने प्रतिवद्धता मेयर कोइरालाले जनाएका छन्।  

अखिल नेपाल फुटबल संघ (एन्फा)का सहमहासचिव वसन्त अर्यालले विराट गोल्डकप विराटनगर र कोसी प्रदेशकै सम्पत्ति भएको बताए। ‘प्रतियोगिताले निरन्तरता पाउनु नै ठूलो कुरा हो। भव्य र सभ्य हिसाबले सम्पन्न पनि भयो,’ उनले भने, ‘तर, आर्थिक क्षेत्रमा देखिएको मन्दीको असर पर्‍यो। आयोजनाका क्रममा कुनै कमीकमजोरी पनि भएन होलान्।’ 

विराटनगरको गौवरसँग जोडिएको यस गोल्डकपलाई निरन्तरता दिनुपर्ने र यसलाई अझ उचाईमा पुर्‍याउन सबैले सहयोग गर्नुपर्ने अर्यालको धारणा छ। 

विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाले घाटामा गएपनि गोल्डकपलाई सफल बनाउन व्यक्तिगत खर्च लगाउनु ठूलो कुरा भएको बताए। ‘घाटालाई ‘मेकअप’ गर्न सहसंयोजक (शुभाशिष कोइराला)ले व्यक्तिगत रूपमा ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्था आएको छ। यस्तो अवस्था आउनु दुःखद् हो,’ उनले भने, ‘तर, गोल्डकप भव्य रूपमा सम्पन्न हुनु गर्वको विषय हो। हामीबाटै केही त्रुटि हुँदा गोल्डकप नाफामा जान सकेन।’ 

बानियाले आयोजनाका लागि छोटो समय मात्रै उपलब्ध भएकाले र अप्ठेरो स्थितिको सामना गर्नु परेकाले धेरै कुरालाई ध्यान पुर्‍याउन नपाउँदा पनि गोल्डकप घाटामा गएको बताए। ‘हामीबाट केही गल्तीहरू भएका छन्। प्राविधिक हिसाबका कमजोरीहरू भए,’ उनले भने, ‘ गल्तीलाई सच्याउँदै पाठ सिकेर अघि बढ्ने छौँ। तर, विराट गोल्डकप देशकै उत्कृष्ट प्रतियोगिता हो।’ गोल्डकपको आगामी संस्करणलाई सफल बनाउन सबैको साथ आवश्यक पर्ने उनको भनाइ छ। 

प्रतियोगितामा आयोजक विराटनगर सीटी, त्रिभूवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, जाउलाखेल फुटबल क्बल, संकटा क्लबसहित विदेशी टिमहरू भारतको लुका सकर क्लब केरला र भुटानको डुर्क ल्हायुल फुटबल क्लबको सहभागिता थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.