किसानलाई आधुनिक उपकरण हस्तान्तरण
नुवाकोट : नुवाकोटको तादी गाउँपालिकाको चारवटा वडाका कृषकलाई आधुनिक उपकरण हस्तान्तरण गरिएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई नुवाकोटले ९० प्रकारका कृषि उपकरण हस्तान्तरण गरेको हो। उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो।
ग्रामीण भेगमा किसान जागरण कार्यक्रमअन्तर्गत गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठले हस्तान्तरण गरिन्।
कृषियन्त्र कृषि सहकारी, कृषक समूह तथा कृषि फार्महरूलाई अनुदानमा उपलब्ध गराइएको इकाई प्रमुख कृष्णप्रसाद उपाध्यायले बताए।
प्रदान गरिएका सामग्रीहरूमा विषादी छर्कने स्प्रेयर ६१ थान, पेट्रोल लाग्ने मिनिट्रिलर २० थान, डिजेल लाग्ने मिनिट्रिलर ६ थान, पिसानी गर्ने मेशिन दुई थान र धान झार्ने मेशिन एक थान रहेका छन्।