जक्तिको जुक्तिले थलारा

थलारा राज्य नेपालमा समाहित भएपछि राणाकालमा थलारी राजा काठमाडौंमा बसाइँ सरेका थिए। थलाराकोट र सिलगढी दरबार भएका थलारी राजाहरूले राणाहरूसँग बिहेवारी चलाए।

जक्तिको जुक्तिले थलारा

नेपाल पुनर्एकीकरणअघि सुदूरपश्चिम बाइसे राज्यमा विभाजित थियो। बाइसे राज्यको उदयअघि वर्तमान सुदूरपश्चिम विशाल ‘सिन्जा खस साम्राज्य’अन्तर्गत थियो। सिन्जा साम्राज्य विघटनपछि जुम्ला र डोटी राज्य अस्तित्वमा आएका थिए। डोटीपछि बझाङ, थलारा, बाजुरा, अछाम, दर्ना, धुलिकोट राज्यहरू देखा परे। तिनै बाइसे राज्यमध्येको एक थियो, थलारा राज्य। थलारा राज्यको राजधानी हाल बझाङ जिल्लाको थलारा गाउँपालिकाको कोटमा थियो।

थलारा राज्यका संस्थापक राजा जक्ति सिंह हुन्। किंवदन्तीअनुसार चितौढगढबाट आएका जैमल फत्ताका दरसन्तान मलै बमका जेठा छोरा शक्ति सिंह बझाङका राजा बनेका थिए। कान्छा छोरा जक्ति सिंह भने थलाराका राजा। इतिहासकारहरूका अनुसार जक्ति सिंहले १५०३ सालतिर स्थानीय सामन्त ‘भोटु खड्का’लाई विस्थापित गरी थलारा राज्य स्थापना गरेका थिए। थलारा राज्य स्थापना सम्बन्धमा स्थानीयस्तरमा अहिले पनि रोचक किंवदन्तीहरू छन्। किंवदन्तीअनुसार बझाङ्गी राजा मलै बम्म जेठा छोरा शक्ति सिंह बुवाको निधनपछि बझाङको राजा बन्न पुगे। त्यतिबेला बझाङ राज्य डोटी अधीनस्थ थियो। सोही कारण बझाङ्गी राजा हरेक दसैंमा टीका थाप्न डोटेली रैका राजाको दरबार (अजैमिरकोट)मा पुग्थे। बझाङलगायत करद राज्यका राजा रजौटाहरूले टीका थापेपछि मात्रै रैका राजा भोजन गर्थे।

१५०३ मा दसैंको टीका थाप्न बझाङ्गी राजा शक्ति सिंहभन्दा पहिले उनका भाइ जक्ति सिंह अजैमिरकोट पुगे। जक्ति सिंहले दाजुको मिल्दो अनुहारको फाइदा उठाई रैका राजाबाट साइतमै टीका थापे। राजा शक्ति सिंह भने पछिमात्रै आइपुगे। भाइले आफूभन्दा पहिला रैका राजाबाट टीका थाप्दा दुवै दाजुभाइबीच कलह उत्पन्न भयो। राजालाई दिनुपर्ने सम्मान उनका भाइ अधिराजकुमार जक्ति सिंहलाई दिँदा रैका राजा पनि समस्यामा परे। त्यसपछि रैका राजाले शक्ति सिंहलाई रानीको हातबाट टीका थाप्न आग्रह गरे। रैका राजाको आग्रहअनुसार शक्ति सिंहले रानीका हातबाटै टीका थापे।

टीका प्रकरण त्यत्तिकै साम्य भएन। बरु, त्यसले जटिल रूप लियो। राजाले टीका थाप्ने ठाउँमा अधिराजकुमारले टीका थापेपछि बझाङको राजकाज कसले सञ्चालन गर्ने भन्नेमा प्रश्न उठ्यो। आफूले रैकाबाट दाजु शक्ति सिंहभन्दा पहिले टीका थापेकाले बझाङको राजकाजको जिम्मा आफू मातहत हुनुपर्ने दाबी जक्ति सिंहको रह्यो। रैका राजाबाट टीका थाप्दैमा बझाङको राजकाज भाइमा सर्न नसक्ने अडान शक्ति सिंहले लिए। त्यसपछि विवाद समाधानका लागि अनेक प्रयत्न भए तर निकास निस्किएन। अन्ततः रैका राजाले नै विवाद निरूपणका नयाँ उपाय खोजे। त्यसपछि रैका राजाले जो पहिले बझाङकोट पुगी राजगद्दी छुन सक्छ उही बझाङको राजा हुने प्रस्ताव अघि सारे। रैकाको उक्त प्रस्तावमा शक्ति सिंह र जक्ति सिंह दुवैले सहमति जनाए। अनि सुरु भयो बझाङकोट पुगेर राजगद्दी छोएर राजा हुने दौड। शाहवंशअघि गोर्खामा घलेहरूले राजा छनोटका लागि प्रचलनमा ल्याएको दौड प्रतियोगिताको झलक बझाङमा देखा पर्‍यो।

थलारा राज्यको नाम कसरी थलारा रहन गयो भन्ने बारेमा इतिहासकारबीच मतैक्यता छैन। थलाराको नामकरण सम्बन्धमा विभिन्न किंवदन्ती सुन्न पाइन्छन्। थलारा राज्यको राजधानी (कोट) थाल आकारको भएकाले राज्यको नाम थलारा रहन गएको हो भन्ने लोकोक्ति छ। पुराना कागजात र अभिलेखहरूमा थलाराको नाम 
‘थलहरा’ उल्लेख छ। 

डोटी, अजैमिरकोट (हाल डँडेलधुरा)बाट पैदल या घोडामा बझाङकोट पुग्न तीन–चार दिन लाग्थ्यो। शक्ति सिंह डोटी जाँदा उनले साथमा बोहरा काजीहरू लिएर गएका थिए। अधिराजकुमार जक्ति सिंहसँग भने ठूलो दलबल थिएन। त्यसैले बलियाबांगा बोहराकाजीहरूले शक्ति सिंहलाई रातारात बझाङकोट पुर्‍याए। जक्ति सिंह पछिमात्रै बझाङकोट पुगे। यसरी शक्ति सिंहको बझाङ राज्य थमौतीमा पर्‍यो। तर, दाजु शक्ति सिंह बझाङको राजा भएको भाइ जक्ति सिंहलाई स्वीकार्य भएन। त्यसैले जक्ति सिंह फेरि डोटी गए।

रैकासँग दाजुभन्दा अगाडि आफूले टीका थापेको नजिर पेस गर्दै बझाङको राजकाज आफूले पाउनुपर्ने दलिल पेस गरे। त्यसपछि रैका राजाले मध्यमार्गी बाटो अपनाए। बझाङ र डोटीको बीच सेती नदीको भित्री फेरोअन्तर्गत पर्ने सबै भूभाग समेटेर छुट्टै थलारा राज्य स्थापना गरे। जक्ति सिंहलाई नवस्थापित थलारा राज्यको राजा घोषित गरे। जक्ति सिंह थलारा राज्यको राजा बन्न पुगे। यसरी बझाङ्गी राजा शक्ति सिंहले डोटली रानीबाट र थलारी राजा जक्ति सिंहले डोटेली राजाबाट दसैंको टीका थापेका कारण ‘राजाटीका थलारीलाई, रानीटीका बझाङ्गी’लाई भन्ने उखान बन्न पुग्यो। उक्त उखान बझाङतिर अहिले पनि उत्तिकै प्रचलित छ।

नामकरण र सिमाना

थलारा राज्यको नाम कसरी थलारा रहन गयो भन्ने बारेमा इतिहासकारबीच मतैक्यता छैन। थलाराको नामकरण सम्बन्धमा विभिन्न किंवदन्ती सुन्न पाइन्छन्। थलारा राज्यको राजधानी (कोट) थाल आकारको भएकाले राज्यको नाम थलारा रहन गएको हो भन्ने लोकोक्ति छ। पुराना कागजात र अभिलेखहरूमा थलाराको नाम ‘थलहरा’ उल्लेख छ। कान्तिपुर (काठमाडौं) दरबारले १८७१ र १८७३ मा थलारी राजालाई पठाएका पत्रमा थलारा राज्यलाई ‘थलहरा’ भनिएको छ। कान्तिपुर दरबारको १९०२ सालको अर्को पत्रमा थलारी जनतालाई ‘थलहारी’ भनेर उल्लेख छ। तर पछिल्ला दिनहरूमा भने यस राज्यलाई थलारा मात्रै भनिएका पाइन्छ।

बझाङ र डोटीको बीचमा रहेको तत्कालीन थलारा राज्य सेती नदीको भित्री फेरोमा फैलिएको थियो। राज्यको पूर्व–उत्तरमा बझाङ र दक्षिण–पश्चिममा डोटी पथ्र्यो। हाल बझाङमा पर्ने थलाराको राजधानी थलाराकोटदेखि सेती नदीको पारि बझाङ तथा वारिवारि दिपिल, बगाडा, दंगाजीका साथै हाल डोटीमा पर्ने, छपाली, खानाकोट, कौराडी, कुसिना, बबिना, खतेडा, गिरिचौका, काँडी, तलारा, पिढ, बारपाटा, लामीखाल, ढकैचा, तल्ली चौकी मल्लीचौकी, मौवा, सायल ढोग, तोलेनी हुँदै सिलगढी माथिल्लो बजार (नाचन्थली)सम्म थलारा राज्यको सिमाना थियो।

बाइसे राज्यको उदयअघि वर्तमान सुदूरपश्चिम विशाल ‘सिन्जा खस साम्राज्य’अन्तर्गत थियो। सिन्जा साम्राज्य विघटनपछि जुम्ला र डोटी राज्य अस्तित्वमा आएका थिए। डोटीपछि बझाङ, थलारा, बाजुरा, अछाम, दर्ना, धुलिकोट राज्यहरू देखा परे। तिनै बाइसे राज्यमध्येको एक थियो, थलारा राज्य।

हाल बझाङको थलारा गाउँपालिकाको थलाराकोटमा राज्यको राजधानी थियो। नेपाल एकीकरणपछि २०१७ जेठ २ गते राज्य रजौटा खारेज हुनुअघिसम्म थलारी राजाहरूले ६ महिना ‘थलाराकोट’ र ६ महिना सिलगढीमा बसेर राज्य प्रशासन चलाउँथे। २०१९ सालमा नेपाल ७५ जिल्लामा विभाजित हुँदा थलारा राज्यको अधिकांश भाग डोटी जिल्लामा परेको थियो। बझाङका साबिक दंगाजी, कोटभैरव, पाराकाट्ने र मालुमेला गाविसको भूभाग बझाङमा परेको थियो।

थुम्के डाँडामाथि थलाराकोट

प्राचीन थलारा राज्यको राजधानी थलाराकोट चारैतिर भीर–पहराले घेरिएको सानो थुम्के डाँडामाथि छ। थलाराकोटमा पुग्न चारैतिरबाट उकालो चढ्नुपर्छ। कोटको पूर्व र पश्चिम कडा चट्टानी भीर छ। पूर्वपट्टिको भीर निकै कहालिलाग्दो छ। कोटको पूर्वतिर थलारीगाड (खोला) र पश्चिमतिर गोमतीखोला खोला छन्। थलारीगाडलाई ठूलीगाडसमेत भनिन्छ। थलारीगाडमा पानीको मात्रा निकै बढी छ। थलारीगाड दक्षिणतिरबाट उत्पत्ति भई उत्तरतिर सेती नदीमा पुगेर मिसिन्छ। थलाराकोट पुग्न उत्तर र दक्षिणबाट दुईओटा बाटा छन्। कोट प्रवेशका लागि दक्षिणतिरबाट ढुंगेसिढीसहितको मुख्य प्रवेशद्वार छ। प्रवेशद्वारलाई ‘खलादेली’ भनिन्छ। प्रवेशद्वारको माथि उमा–महेश्वरको कलात्मक मूर्ति छ।

२०२२ सालअघि थलाराकोटमा थलारी राजाको भव्य दरबार थियो। मठमन्दिर थिए। २०२२ सालमा आएको भूकम्पका कारण दरबार भत्किन पुग्यो। थलारी राजाको बसाइ थलाराका अतिरिक्त सिलगढी र काठमाडौंमा समेत भएका कारण दरबारको जीर्णोद्धार र पुनर्निर्माण भएन। पछि दरबार पूरै खण्डहरमा परिणत भयो। थलाराकोटमा थलारी राजाहरूकै पालादेखि विजयादशमीको नवमीका दिन ठूलो मेला लाग्थ्यो। जुन प्रचलन अहिले पनि कायम छ। नवमीका दिन कोतमा बलि दिइन्छ।

रानीका लागि सुरुङमार्ग

​​​​​​​थलारा राज्यको राजधानी थलाराकोटमा खानेपानीको कुनै मुहान छैन। त्यसैले थलारी राजाहरूले खानेपानीका लागि कोटभन्दा लगभग दुई सय मिटर दक्षिणमा कलात्मक ढुंगेधारा निर्माण गरेका थिए। जुन धारालाई भिमल धारा भनिन्छ। ती धाराहरू अहिले पनि अस्तित्वमा छन्। थलारी राजाहरूले रानीहरू नुवाइधुवाइका लागि भने थलारीगाडसम्मै पुग्ने सुरुङ निर्माण गरेका थिए। दरबारबाट सीधै थलारीगाड पुग्ने सुरुङ कडा पहरा फोरेर भित्रभित्रै निर्माण गरिएको छ। दरबार र थलारीगाडसम्मको दूरी कम्तीमा पनि डेढ सय मिटरभन्दा बढी देखिन्छ। उक्त सुरुङको मुख अहिले पनि प्रस्ट देखिन्छ। दरबार क्षेत्र अगाडिको चौरमुनि पहराभित्र पानीको भूमिगत पोखरी रहेको भन्ने स्थानीयको छ।

थलारी राजाहरू

जक्ति सिंहसहित उनका २४ पुस्ताले थलारामा शासन गरेको इतिहास छ। जक्ति सिंहपछि जयदेव थलाराका राजा बनेका थिए। जयदेवपछि विजय देव, विजय देवपछि हिमाद्री देव, भाग देव, पारंगी देव, करनी देव थलाराका राजा बने। करनी देवपछि लक्ष्मण सिंह थलाराको राजा बने। लक्ष्मण सिंहपछिका थलारी राजाहरूले नाममा अगाडि देव हटाएर सिंहमात्रै लेख्न सुरु गरे। लक्ष्मण सिंहपछि उदै सिंह, कल्याण सिंह, आनन्द सिंह, जितारी सिंह, नारायण सिंह, भीम सिंह, मुकुटी सिंह, प्रति सिंह, प्रदीप सिंह, गजेन्द्र सिंह, कीर्तिबहादुर सिंह, भूपनारायण सिंह, कल्कीनारायण सिंह, त्रिलोकनारायण सिंह, राघवनारायण सिंह थलाराका राजा बने। राजा राघवनारायण सिंह थलाराका अन्तिम राजा हुन्।

नेपालमा समाहित

थलारा राज्य १८४७ सालमा विधिवत्रूपमा नेपालमा समाहित भएको थियो। नेपाल पुनर्एकीकरणमा बाइसे राज्यमध्ये बझाङ, थलारा, बाजुरा, दर्ना र धुलिकोटले नेपाललाई साथ दिएका थिए। एकीकरण अभियानमा सहयोग पुर्‍याएका कारण थलारा, बझाङ, बाजुरा र दर्नाका राजा रजौटाहरूलाई स्वायत्ततासहित राज्य सञ्चालनको अधिकार दिइएको थियो। बझाङ्गी झैं थलारी राजाले पनि केन्द्र (काठमाडौं)लाई वार्षिक सिर्तो बुझाउँथे। एकीकरणलगत्तै थलाराले केन्द्रलाई तिर्ने वार्षिक सिर्तो २५ रुपैयाँ थियो। जुन रकम बझाङ, बाजुरा, दर्नालगायतका अरू राज्यका तुलनामा कम थियो।

राज्यप्रशासनमा छत्तिसी–बत्तिसी कर

नेपाल एकीकरणपछि डोटीको सिलगढीमा गौंडा थियो। बझाङ, बाजुरा, थलारा, दर्ना राज्यहरूलाई डोटीगांैडाअन्तर्गत राखिएको थियो। डोटी गौंडालाई जर्नेली गौंडा पनि भनिन्थ्यो। सिलगढीमा जर्नेलको कमान्डमा चार सय पल्टन बस्थ्यो। डोटी गौंडामा ‘तहबिल ढुकुटी’ थियो। थलारी राजाहरू आफ्नो राज्य मातहतका दरा गर्खाहरूमा विभिन्न शीर्षकमा कर, काँचो, दण्डकुण्ड आदि उठाउँथे। त्यसरी उठाइने करलाई छत्तिसी–बत्तिसी कर भनिन्थ्यो। कर उठाउन दरा–गर्खामा मुखिया जिम्मुवालहरू खटाइन्थे। मुखिया–जिम्मुवालमाथि थलारी राजाका चौतरिया हुन्थे। तत्कालीन थलारा राज्यअन्तर्गत सायल, छब्बीस, चौगाउँ, सात सय, ढोग र चालिस गरी ६ ओटा दरा (स्थानीय प्रशासनिक इकाइ)हरू थिए।

थलारा राज्य–रजौटाको खारेजी

२०१५ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको सरकार बन्यो। कोइराला सरकारले देशभर रहेका राज्य अदालत खारेज गरी इलाका अदालत गठन गर्ने निर्णय गर्‍यो। २०१७ जेठ २ गते राज्य अदालत उन्मूलन ऐन जारी गरियो। उक्त ऐन लागू भएसँगै बझाङ, दर्ना, दल्लु, गुल्मी, जाजरकोट, दाङ र गलकोट राज्य अदालतहरू खारेजीमा परे। तत्कालीन ​​​​​​​बझाङ्गी राजा रामजंगबहादुर सिंहका छोरा ओमजंगबहादुर सिंहबाहेकका राजारजौटाले कोइराला सरकारको उक्त निर्णय स्वीकारे।

२०२२ सालअघि थलाराकोटमा थलारी राजाको भव्य दरबार थियो। मठमन्दिर थिए। २०२२ सालमा आएको भूकम्पका कारण दरबार भत्किन पुग्यो। थलारी राजाको बसाइ थलाराका अतिरिक्त सिलगढी र काठमाडौंमा समेत भएका कारण दरबारको जीर्णोद्घार र पुनर्निर्माण भएन। पछि दरबार पूरै खण्डहरमा परिणत भयो।

२०१७ सालको राजा महेन्द्रले सत्ता लिएसँगै राज्य रजौटा ऐन, २०१७ लागू गरे। ऐन लागू भएसँगै देशभर विद्यमान सबै राज्य–रजौटाहरू खारेज भए। राज्य रजौटा खारेज गर्ने सरकारी निर्णयमा बझाङ्गीबाहेक अरू सबै रजौटाले सहमति जनाएका थिए। राज्य रजौटा खारेज हुँदा थलारा राज्यका राजा राधवनारायण सिंह थिए। राधवनारायण सिंहले राज्य रजौटा खारेजीलाई सहर्ष स्वीकारे पनि उनलाई जीवनभर राजा पद र भत्तामात्रै दिइयो। थलारी राजाका सन्तान दरसन्तानका लागि राज पदवी र भत्ताको व्यवस्था गरिएन। बझाङ्गी, सल्यानी, जाजरकोटे र मुस्ताङ्गी राजा तथा उनका दरसन्तानहरूलाई भने राजा पद र भत्ताको व्यवस्था गरिएको थियो।

थलारा राज्य नेपालमा समाहित भएपछि राणाकालमा थलारी राजा काठमाडौंमा बसाइँ सरेका थिए। काठमाडौंमा उनीहरूको निवास थियो। थलाराकोट र सिलगढी उनीहरूका दरबार थिए। थलारी राजाहरूले राणाहरूसँग बिहेवारी चलाएका थिए। अन्तिम थलारी राजा राजा राघवनारायण सिंह भने बढीजसो समय सिलगढीमै बस्थे। डोटीको पद्म हाइस्कुल स्थापनामा शिवराज पन्त झंै राजा राधवनारायणको समेत योगदान थियो। राधवनारायण सिंहले २०१५ सालको आम निर्वाचनमा क्षेत्र नं. ७० थलारा–डोटी–उत्तरबाट स्वतन्त्र उम्मेद्ववारी दिए पनि पछि उम्मेदवारी फिर्ता लिएका थिए। बेलायत तथा रूसका लागि पूर्व–राजदूत रहेका पूर्व–परराष्ट्रसचिव झरेन्द्रनारायण सिंह थलारी राजा रावघनारायण सिंहका जेठा छोरा हुन्। राज्य रजौटा ऐनमा भएको व्यवस्थाका कारण राघवनारायण पछि उनका छोरा झरेन्द्रनारायण सिंह भने थलाराको राजा हुन पाएनन्।

थलाराकोटबारे सोधखोज र अध्ययन–अनुसन्धान हुन सकेको छैन। थलारा राज्यको इतिहास थलाराकोटको भग्नावशेषकै गर्तमा छ। थलारा कोटमा रहेका मठमन्दिर, मूर्तिहरू, ढुंगेसिँढी जीर्ण अवस्थामा छन्। दरबार परिसरभित्र रहेको सुरुङमार्गबारे सोधखोज हुन सकेको छैन। थलाराकोटको संरक्षण, संवद्र्धन र उत्खननमा स्थानीय पालिकाको ध्यान पुगेको छैन। थलारा कोटका ऐतिहासिक संरचनाको पुनर्निर्माण, संरक्षण र संवद्र्धन गर्र्न सके थलाराकोट आन्तरिक तथा बाह्य पर्यटकहरूको गन्तव्य बन्नेछ। त्यसैले प्राचीन थलाराकोटको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय पालिकाको ध्यान जानुपर्छ। थलाराकोटमा रहेको ऐतिहासिक रानी सुरुङको उत्खनन गरिनुपर्छ। यत्रतत्र छरपष्ट रहेका प्राचीन मूर्ति र दरबारका भग्नावशेषहरूको संरक्षणको खाँचो छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.