तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

पोखरा : अन्नपूर्ण दिवसका अवसरमा अन्नपूर्ण सेञ्चुरी महोत्सव अन्तर्गत शनिबार भएको तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि महिलातर्फ जुम्लाकी गणना भण्डारी र पुरुषतर्फ नेपाल पुलिस क्लब (जुम्ला) का धिरबहादुर बुढाले जितेका छन्।
कास्की तर्फको अन्नपूर्ण आधार शिविरको ४ हजार १ सय ३० मिटर उचाइबाट सुरु भएको ४२.१९५ मिटर दौडमा पुरुष तर्फ जुम्लाका धिरबहादुरले ४ घन्टा १० मिनेट ५१ सेकेण्डमा पूरा गरे।
प्रतिस्पर्धात्मक दौडमा नेपाल आर्मीका होमलाल श्रेष्ठले निर्धारित दूरी ४ घन्टा १२ मिनेट १९ सेकेण्डमा पूरा गरेर दोस्रो भए। यस्तै गरी नेपाल आर्मीकै बेदबहादुर सुनुवारले ४ घन्टा १६ मिनेट ४८ सेकेण्डमा पूरा गरी तेस्रो भए।
महिला तर्फको प्रतिस्पर्धामा प्रथम भएकी गणना भण्डारीले निर्धारित दूरी ५ घन्टा ४३ मिनेट ०२ सेकेण्डमा पूरा गरिन्। यस्तै गरी धादिङकी रशिला तामाङले निर्धारित दूरी ६ घन्टा ५ मिनेट ०२ सेकेण्डमा पूरा गरी दोस्रो भइन्। ओखलढुंगाकी चोकी शेर्पाले ६ घन्टा ११ मिनेट १६ सेकेण्डमा दौड पूरा गरी तेस्रो भइन्।
अन्नपूर्ण आधार शिविरबाट सुरु भएको दौड माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमाल, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, कोम्रोङडाँडा हुलै घान्द्रुकमा आएर समापन भएको थियो।
पुरुष तर्फ ३६ जना धावकको सहभागिता रहेको थियो भने महिला तर्फ ८ जना धाविकाको सहभागिता रहेको थियो। प्रतिस्पर्धामा स्पेनिस, टर्की र कोरियन धावकको पनि सहभागिता रहेको थियो।
अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम भएको हो। सन् १९६० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हार्जोगको टोलीले अन्नपूर्ण प्रथम ८,०९१ मिटर उचाइको हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमानी राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइन्छ।
सोही दिनको सम्झनामा अन्नपूर्ण म्याराथनको आयोजना गरिँदै आएको प्रतियोगिताका संयोजक ललित गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस !
