पुलिससँग हार्यो मछिन्द्र, चर्च ब्वाइजलाई फाइदा

काठमाडौं : मोसेस टुमको दुई गोलप्रेरित नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आइतबार साविक विजेता मछिन्द्र फुटबल क्लबलाई २–१ गोलको नतिजामा पराजित गरेको छ। च्यासल रंगशालामा भएको खेलमा २–१ ले हारेसँगै मछिन्द्र उपाधि होडमा पाँच अंकले पछि परेको छ।
जारी लिगमा अब दुई खेल बाँकी रहँदा चर्च ब्वाइज युनाइटेडको २४ खेलबाट ४४ अंक छ। समान खेलबाट मछिन्द्रको ३९ अंक छ।
ओलावाले आफिजले २७औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको पुलिसले अन्तिमको १५ मिनेटमा दुई गोल गर्दै उत्कृष्ट पुनरागमन गर्यो।
टुमले ७५औं मिनेटमा गोल गर्दै पुलिसलाई बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा पुनः टुमले गोल गर्दै विभागीय टिमलाई अग्रता दिलाएका थिए।
जितसँगै पुलिस २४ खेलबाट ३७ अंक जोडेर लिग तालिकाको चौथो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस !
