गर्मी बढ्दा विद्यालय बन्द

गर्मी बढ्दा विद्यालय बन्द
गर्मीले बन्द गरिएको महालक्ष्मी नगरपालिका–४ धनकुटाको रहेको चानुवा माध्यमिक विद्यालय। तस्बिर : हरिबहादुर लम्जेल

बागमती प्रदेशका तीन जिल्लामा अत्याधिक गर्मीका कारण पठनपाठन प्रभावित भएको छ। चितवन, मकवानपुर र सिन्धुलीमा गर्मीको असर बढी छ।

गर्मीले जनजीवन मात्रै प्रभाव पारेको छैन शैक्षिक संस्थाको पठनपाठनमा पनि असर गरेको छ। तराई मधेसका अधिकांश जिल्लामा अत्याधिक गर्मीका कारण निजी तथा सामुदायिक विद्यालय बन्द गरिएका छन्। 

जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयहरू ८ दिनका लागि बन्द गरेको छ। अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजगर गर्दै १९ गतेदेखि २६ गतेसम्मका लागि विद्यालयका प्रशासनिक कामबाहेक पठनपाठन बन्द रहने जनकपुरधाम उपमहागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशिले बताए। 

यसैगरी गौशाला नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको छ। गर्मीको कारण जेठ २१ गतेदेखि जेठ २६ सम्मका लागि गर्मी बिदा दिइएको शिक्षा शाखा संयोजक वीरबहादुर बलम्पाकीले बताएका छन्। सो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी मिलाइएको संयोजक बलम्पाकीले जानकारी दिए। नगरपालिकाका उपमेयर रेणुकुमारी महतोले भनिन्, ‘यस्तो बेलामा स्कुल चलाउँदा बालबालिकालाई असर पर्न सक्छ। गर्मी उस्तै छ। त्यसैले बिदा दिइएको हो।’ 

बागमती प्रदेशका तीन जिल्लामा अत्याधिक गर्मीका कारण पठनपाठन प्रभावित भएको छ। चितवन, मकवानपुर र सिन्धुलीमा गर्मीको असर बढी छ। मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाले आइतबारबाट एक साताका लागि विद्यालय बन्द गरेको छ। अन्य तीन पालिकाले सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ।

गर्मी अत्याधिक हुँदा विद्यार्थीले बान्ता गर्ने, नाकबाट रगत आउने, बेहोस हुने समस्या भएकाले जेठ २१ देखि २६ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधनर रिमालले बताए। हेटौंडामा मात्र ७३ वटा सामुदायिक र ४९ वटा संस्थागत विद्यालय छन्। ती विद्यालययमा करिब ५० हजार विद्यार्थी अध्ययनरत रहेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। अघिल्लो वर्षहरूको तुलनामा बर्ढी गर्मी रहेको हेटौंडामा यो वर्ष गर्मीको तापक्रम ३९ डिग्रीसेल्सियससम्म मापन गरिएको छ। 

अत्यधिक गर्मीका कारण मकवानपुरको मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय पाँच दिनका लागि बन्द गर्ने सूचना सार्वजनिक गरेको छ। तीनवटै पालिकाले जेठ २२ गते सोमबारदेखि २६ गते शुक्रबारसम्म विद्यालयको पठनपाठन बन्द गर्ने जानकारी दिएको हो। चितवनमा पनि अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका सहित चार स्थानीय तहले आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ। तापक्रम ४१ डिग्रीसम्म पुगेपछि भरतपुर महानगरपालिका, माडी, खैरेनी, रत्नगर र राप्ती नगरपालिकाले विद्यालय एक साताका लागि बन्द गरेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले बताए। 

सिन्धुलीको दुई नगरपालिका र एक गाउँपालिकाले पनि बिदा दिएको छ। कमलामाई र दुधौली नगरपालिकाले आइतबारदेखि बिदा दिएको हो। हरिहरपुरगढी गाउँपालिकाले सोमबारदेखि बिदा दिने निर्णय गरेको छ। कमलामाईले ४ दिन, हरिहरपुरगढीले ५ दिन र दुधौली नगरपालिकाले ६ दिन बिदा दिएको छ। रामेपछापका विद्यालयहरूमा पनि पठन पाठनमा समस्या भएको छ। गर्मीका कारण विद्यार्थी बिरामी हुने गरेका कारण बिहान नियमित गरिने प्रार्थना गर्न छाडिएको मन्थली माध्यमिक विद्यालयका प्राध्यापक टंकप्रसाद दाहालले जानकारी दिए। 

कोसी प्रदेशको पहाडी जिल्लामा पनि गर्मीको असर बढ्दो छ। धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माध्यमिक विद्यालय एक साता बन्द गरिएको छ। अभिभावक, शिक्षक, जनप्रतिनिधिसहितको बैठकले एक साता विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक कुमार बाबु श्रेष्ठले बताए। उनका अनुसार पछिल्लो समयको अत्याधिक गर्मीले केही विद्यार्थी बिरामीसमेत भए। अरुण नदीको गढतिरमा रहेको सो विद्यालयमा ४ सय ३० जना विद्यार्थी अध्ययरत छन्। दिउँसो अत्याधिक घाम लाग्ने र तातो हावा वहने हुँदा विद्यार्थी विरामी हुन थालेपछि सबैको सल्लाहमा बिदा दिइएको उनले बताए।

केसीका तराईका जिल्ला झापा र मोरङका अधिकांश स्थानीय तहले बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालय बन्द गरेका छन्। स्थानीय नदी तथा पोखरीमा पौडी खेल्ने बालबालिकाकोसमेत घुइँचो लाग्ने गरेको पाइएको छ। झापाका स्थानीय तहहरूले गत बिहीबारदेखि विद्यालय बन्द गरेका थिए। केही स्थानीय तहले मंगलबारसम्म विद्यालय बन्द गरेकामा भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, शिवसताक्षीलगायतका पालिकाहरूले तीन दिन बिदा थपेको समेत सूचना जारी गरेको छ। 

गर्मीले जनजीवन प्रभावित भएपछी धरान, इटहरी र इनरुवालगायतका पालिकाका विद्यालय बन्द गरिएको छ। धरान उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गणेशप्रसाद खतिवडाले गर्मीका कारण वर्षे विदाबाट कट्टा गर्ने गरि जेठ २४ गतेसम्म कुनै प्रकारको क्षति नहोस् भनेर विद्यालय बन्द गरिएको बताए। 

मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरीलगायतका स्थानीय तहले विद्यालय बन्द गरेका छन्। गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय बन्द गराइएको स्थानीय तहका  शिक्षा शाखाले जनाएको छ। विराटनगर महानगरपालिकाले आइतबारदेखि तीन दिनसम्म विद्यालय बन्द गरेको  विराटनगर महानगरपालिका शिक्षा महाशाखा अधिकृत कृष्ण भट्टराईले जानकारी दिए। जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार गत वैशाखमा ४० दशमलव ५ डिग्री सेल्सीयस तापक्रम रहेकोमा यस महिना पनि तापक्रम सोही सरदरमा रहेको छ। 

रुपन्देहीमा पनि विद्यालय बन्द गरिएका छन्। सिद्धार्थनगर नगरपालिकाको नगर शिक्षा समितीको आइतबार बसेको बैठकले नगरमा रहेका विद्यालयहरू जेठ २२ गतेदेखि जेठ २६ गतेसम्मका लागि वर्षे बिदाबाट कट्टी हुने गरी बिदा दिने निर्णय गरेको छ। ‘गर्मी बढेपछि विद्यार्थीलाई विद्यालय आवागमन र पठनपाठनमा समस्या भइरहेको थियो’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँनले भने, ‘त्यसैले ५ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छौं। यसले ससाना बालबालिकालाई राहत हुने विश्वास लिएका छौँ।’

गर्मी बढेपछि रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरू बन्द गरिएको छ। विद्यालय तहदेखि उच्च तहसम्मका शैक्षिक प्रतिष्ठान बन्द गरिएका हुन्। कक्षाकोठामा बस्नै नसक्ने अवस्था छ। विद्यार्थी कक्षाकोठामै चक्कर आएर ढल्ने भए पनि स्थानीय तहले नै गर्मीमा विदा दिने निर्णय गरेका छन्। रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरू असारसम्मका लागि विदा दिइएको छ। बुटवलको दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपानेले हिउदे विदाअन्तर्गत गर्मीमा विदा दिइएको बताए। 

गर्मीले परासीका सामुदायिक र निजी विद्यालयहरू केही दिनका लागि बन्द गरिएको छ। जिल्लाका सबै पालिकाहरूका शिक्षा शाखाले सूचना निकालेर गर्मीका कारण विद्यालय बन्द गरिएको जनाएका छन्। केही पालिकाहरूले २३ गतेसम्म र केहीले २६ गतेसम्म विद्यालय बन्द गरेको जनाएका हुन्।

कृष्ण सारु मगर / हेटौंडा, गोविन्द महतो / जनकपुरधाम , लक्ष्मण पोखरेल / बुटवल, हरि शर्मा/ परासी, सलमान खान / भैरहवा, रत्नप्रसाद आचार्य / धरान, हरिबहादुर लम्जेल / धनकुटा , जितेन्द्रनारायण ठाकुर/ विराटनगर, पार्थ मण्डल / झापा

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.