अन्नपूर्ण मिडिया नेटवर्कको विद्युतीय सवारी र्याली (फोटो फिचर)
काठमाडौं : विश्व वातावरण दिवसको अवसरमा सोमबार बिहान अन्नपूर्ण मिडिया नेटवर्कले विद्युतीय सवारी र्याली आयोजना गरेको छ। तीनकुनेस्थि अन्नपूर्ण टावरबाट सुरु भएको ‘नेक्सन ईभी एएमएन ईभी र्याली २०२३ इन एसोसिएसन विथ टेस्ला’को उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत र अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले गरेका हुन्।
‘वि बिलिभ इन एक्सन’को मुलनारासहित आयोजना गरिएको र्यालीमा २ सय विद्युतीय सवारी, सवारीधनी तथा चालकको उपस्थिति थियो। सवारी धनी तथा चालकलाई दीगो भविष्यको यात्रातर्फ लम्किन आह्वान गरिएको र्यालीमा दीगो, डब्ल्यूडब्ल्यूएफ, सेभ द चिल्ड्रेन, प्यानसि बाइकले सहकार्य गरेका थिए। र्यालीको फुड पार्टनर गार्डेन रेस्टुरेन्ट, बेभरेज पार्टनर फ्रुट एग्रो, अनलाइन फुड डेलिभरी पार्टनर फुडमान्डु तथा सिनर्जी पार्टनर सिम्रिक फाउन्डेसन रहेका छन्।
तीनकुनेबाट सुरु भएको र्याली गौशाला, चाबहिल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, दरबारमार्ग, ज्ञानेश्वर र फेरि गौशाला हुँदै तीनकुने आएर सम्पन्न भएको छ। दुईपांग्रे र चारपांग्रे सवारी सामेल र्यालीको नेतृत्व मुख्य प्रायोजक टाटाको नेक्सन ईभी म्याक्सले गरेको थियो।
प्रकृति र मानवबीचको अन्योन्यास्रित सम्बन्धलाई बचाइराख्नु चुनौतीपूर्ण छ : मन्त्री बस्नेत
कार्यक्रममा प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्नपूर्ण मिडियाले आफ्नो स्थानमा आवश्यक पहल गर्नुपर्ने दायित्व सम्झेर र्याली आयोजना गरेको भन्दै प्रशंसा गरे। उनले सराहना गर्दै भने, ‘यो काममार्फत् चुनौतीको सही ढंगले सामना गर्दै हरेक व्यक्ति तथा संस्थाले आफ्नो ठाउँबाट चाल्नुपर्ने पहल कस्तो हुन्छ भन्ने सिकाउँछ।’
वातावरण प्रदुषित बन्दै गर्दा मानवीय जीवन प्रदुषित बन्दै गइरहेको सन्दर्भमा मन्त्री बस्नेतले प्रकृति र मानवबीचको अन्योन्यास्रित सम्बन्धलाई बचाइराख्नु चुनौतीपूर्ण रहेको जिकिर गरे । ‘मान्छेका दैनिक जीवनमा आउने समस्या जुन परिमाणमा विस्तार हुँदै गइरहेको छ, त्यही अनुपातमा हाम्रो पहलकदमी विकास गर्न सकेनौं भने समस्या र जीवनको बीचमा ठूलो असन्तुलन पैदा हुन्छ,’ बस्नेतले भने, ‘वातावरणको वैश्विक आयाममा अन्नपूर्णले संरक्षण गर्ने नियत राखेर ईभी र्याली आयोजना गरेको छ। यो र्यालीले निश्चय नै वातावरण संरक्षण र स्वस्थ वातावण प्रबर्द्धनन गर्नेछ। यो अभियान सान्दर्भिक र आवश्यक पनि छ।’
बस्नेतका अनुसार जलवायु परिवर्तनका कारण पृथ्वी तात्दै जाँदा यसलाई न्यूनीकरण गर्नु चुनौतीको विषय हो। वातावरणसँग सम्बन्धित नेपालको स्थानीय एजेन्डा पनि छन्।
‘वातावरणको संरक्षण गर्नु भनेको जमीन, जलसहित वायुको संरक्षण गर्नु पनि हो,’उनले थपे, ‘वायु प्रदुषण रोक्न तथा हरित पर्यावरण जोगाउन विद्युतीय सवारीको भुमिका हुन्छ।’ समस्याको भार घटाउन पेट्रोलिम पदार्थले चल्ने गाडीको सट्टा विद्युतीय सवारी प्रयोग गर्दा हानिकारण उत्सर्जन घटाएर सकारात्मक योगदान रहने हुनाले सरकारले विद्युतीय सवारीलाई प्रबर्द्धनन गर्दै आइरहेको छ र आगामी दिनमा पनि प्रोत्साहन गर्ने नीति कार्यक्रम प्रस्तुत गर्दै आइरहेको दाबी उनले गरे।
पृथ्वीलाई असर पार्ने हानिकारक उत्सर्जन न्यूनीकरण गर्नु सबैको दायित्व हो : क्याप्टेन थापा
कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले विश्व वातावरण दिवस खुसीका साथ मनाउन जीवनशैली नै परिवर्तन गरिनुपर्ने बताए। ‘विद्युतीय सवारीको प्रयोग यस्तै सकारात्मक अभ्यास हो,’क्याप्टेन थापाले भने, ‘यो सन्देश समाज, सरकार र सहकार्य गर्ने सबैले बुझ्नुपर्छ र सबैजना समान रुपले सजग रहनुपर्छ।’
काममा विश्वास गर्छौं भन्ने सोचका साथ वातावरण संरक्षण गर्ने अभियानमा सरिक भएको भन्दै उनले भने,‘म हिमाललाई नजिकबाट बुझ्न अवसर पाएको मान्छे, हिउँ पग्लिँदै गएको देख्छु, यो संसारको मानवजातीका लागि जोखिमको कुरा हो।’ पृथ्वीलाई असर पार्ने हानिकारक उत्सर्जन न्यूनीकरण गर्नु सबैको दायित्व रहेको उनको बुझाई छ।
‘जलवायु परिवर्तनले हिउँद र वर्खा छुट्याउनै गाह्रो भइसक्यो, तराईका विद्यालय गर्मीका कारण बन्द भइरहेका छन्,’ थापाले भने, ‘यो असर कम गर्नु सबैको दायित्व हो। हामी सञ्चारकर्मीले यो दायित्व बुझेर कलम चलाउने गरेका छौं।’ अन्नपूर्ण मिडिया नेटवर्कले ईभी र्याली आयोजना गरेर सकारात्मक चेत विकास गर्नुलाई आफ्नो कर्तव्य मानेको उनको भनाई छ। ‘हामी भावि पुस्ताको शत्रुका रुपमा परिणत हुँदै छौं, यो रुपान्तरणलाई आजैदेखि रोकौं, दायित्व सम्झेर वातावरणमैत्री काम मात्र गरौं,’ थापाले भने।
यसैगरी अन्नपूर्ण मिडिया नेटवर्कले इभी र्यालीमा सहभागीमध्येबाट गोलाप्रथा गर्दा श्यामकाजी महर्जनले विद्युतीय साइकल जितेका छन्।
हेर्नुहोस् अन्नपूर्ण मिडिया नेटवर्कको विद्युतीय सवारी र्यालीका तस्बिरहरु :
तस्बिर : सुनीता डंगोल/ अभिषेक महर्जन