नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधान ट्रयाकमा आएको दावी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा सांसदले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रक्रिया पूरा गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष स्वीकृतिका लागि पुगेको विधेयक प्रमाणीकरण भएपछि संविधान ट्रयाकमा आएको दावी गरे।
उनले जनताको हितलाई राखेर नै दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले अनुरोध गरेको जिकिर गरे। दुवै सदनबाट विधेयक पारित गरेर पठाउँदा फेरि राष्ट्रपतिले दराजमा हाल्दिए लोकतन्त्रमाथि घात हुने खतरा समेत देखेको उनले बताए।
उनले दुवै सदनले विधिसम्मत तरिकाले पठाएको विधेयक अर्को संसद्ले मान्दिन भन्न नमिल्ने तर्क समेत गरे। त्यस्तै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कैयौं विषयमा छलफल भएको र राष्ट्रिय हित र स्वाधिनताको विषयमा सरकार चिन्तित रहेको बताए । उनले आफू धर्मनिरपेक्षतावादी भएको र जनताको धार्मिक आस्थालाई अपमान हुने काम गर्न हुँदैन भन्ने मान्यता रहेको प्रस्टीकरण दिए।
उनले नेपाल–भारत सीमा विवादका विषयमा दुवैपक्ष बसेर छलफल गर्नुपर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस !
