प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् : योगगुरु रामदेव

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन् : योगगुरु रामदेव
सुन्नुहोस्

डोटी : भारतीय योगगुरु बाबा रामदेवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' शान्ति र क्रान्तिका नायक भएको बताएका छन्। 

खप्तडमा आजदेखि सुरु भएको प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा बोल्दै उनले प्रचण्ड वास्तविक कम्युनिस्ट भएको दाबी गरे।

साथै उनले आफू निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्न चाहेको बताए। उनले भने, ‘निःशुल्क खप्तडको ब्रान्ड एम्बेस्डर बन्छु, तपाईंले गरेका हरेक काममा मेरो सहयोग हुन्छ।’

यस्तै, सम्मेलनमा भाग लिन रामदेवसँगै आएका आचार्य बालकृष्णले जीवनमा एकपटक खप्तड हेर्न जानुपर्ने बताए। प्रधानमन्त्रीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावलको उपस्थिति छ। सम्मेलन तीन दिनसम्म चल्नेछ।

सुदूरपश्चिम प्रदेश सरकार तथा खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनमा तथा नेपाल पर्यटन बोर्ड, स्थानीय तहहरूको समन्वयमा सम्मेलन आयोजना गरिएको हो।

खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ। आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए।

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तड बाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ। सो  क्षेत्रमा विभिन्न २२ पाटन, ५३ झोती (टापु) लगायतका आकर्षक संरचना छन्। 

खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ। खप्तडमा अहिलेसम्म सडक मार्ग भने पुग्न सकेको छैन। विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, तीन सय ७२ प्रजातिका वनस्पति र एक सय ३० थरीका जडिबुटीले भरिपूर्ण छ। 

डोटीको झिग्रानासम्म यातायातको व्यवस्था भए पनि त्यहाँबाट करिब ४ घण्टाको पैदल यात्रापछि मात्र खप्तड पुगिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.