बजेटबारे ओलीको टिप्पणी : गठबन्धनको जीवन रक्षाको बुटिक मात्रै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घट्दो पुँजीगत खर्चबाट समावेशी आर्थिक वृद्धि हाँसिल गर्न नसक्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलमा भाग लिदै अध्यक्ष ओलीले नेपाल र नेपालीको हितमा बजेट नआएको बताए।
'घट्दो पुँजीगत खर्चबाट समावेशी आर्थिक वृद्धि हाँसिल गर्ने उद्देश्य पूरा हुन सक्दैन,'उनले भने।
ओलीले बजेट गठबन्धनको रक्षाका लागि मात्रै ल्याइएको आरोप लगाए। 'यो बजेट समृद्धि नेपाल, सुखी नेपालीका लागि होइन। यो केबल गठबन्धनको जीवन रक्षाको बुटिक मात्रै हो। नेपाल र नेपालीको हितको योजना कार्यक्रम र लागनीको बजेट होइन। ,'उनले भने बजेटका प्रावधानहरूले यस्तै अभिव्यक्ति दिएका छन्।'
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले पुँजीगत खर्चको लक्ष्य चालु आथिक वर्षको रु ३ खर्ब ८० अर्बबाट घटाएर ३ खर्ब २ अर्बमा सिमित गरेको जिकिर गरे।
पुँजीगत खर्च हिजो र आजको आवश्यकतालाई मात्रै नभइ भोलिको आँकडालाई निर्धारण गरेर ल्याउनुपर्ने बताए। ओलीले भने,'पुँजीगत खर्चलाई उच्च उत्साहका साथ ड्राइभ गरेर सम्पूर्ण पुँजी निर्माणका लागि विशेष पहल लिनुपर्ने अहिलेको राष्ट्रिय आवश्यकता विपरित थकित मनस्थित मायोक्तिक भिजन सिमित रहेर पुँजीगत खर्च घटाउनु अहिलेको नेपाली पुस्ताको आवाजलाई आत्मसाथ गर्न नसक्नु हो। देश र युवाहरूको आकांक्षलाई अस्वीकार गर्नु हो।'
ओलीले सरकारले वैदेशिक अनुदानको रकमलाई समेत घटाउन खोजेको भन्दै आपत्ती जनाए।
प्रतिक्रिया दिनुहोस !
