इलाम र झापाका भूमिहीन सुकुम्बासीलाई मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण
काठमाडौं : सरकारले भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी लालपूर्जा वितरण गरेको छ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्बासीलाई लालपूर्जा प्रदान गरेकी हुन्। झापाको कनकई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पूर्जा पाए।
उनले तीन तहका सरकारको साझा कार्यक्रमको रूपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित नहुने बताइन्। ‘संविधानले दिएको अधिकारअनुसार अब कोही पनि नेपाली भूमिहीन हुनु पर्दैन। मेरो कार्यकालभित्रै भूमिहीनको समस्या समाधान गर्नेगरी काम गरिरहेको छु,' उनले भनिन्।