‘लु’ को जोखिम
लु लाग्नबाट जोगिने सबैभन्दा उत्ताम उपाय भनेको गर्मी र तातो हावा चलेको अवस्थामा घाममा ननिस्कनु नै हो।

तातो हावाको प्रकोप नै लु हो। गर्मी महिनामा नेपालको तराई क्षेत्रमा चल्ने तातो हावालाई लु भनिन्छ। तराई क्षेत्रमा सो समयमा तापक्रम ४० डिग्री सेन्टिग्रेटभन्दा माथि पुग्दछ। जसले गर्दा गर्मी समयमा चल्ने हावा अत्यधिक तातो हुने गर्दछ। तातो हावाको सम्पर्कमा आउने व्यक्तिको शरीरबाट अत्यधिक पसिना आउँछ। जसले गर्दा व्यक्तिको शरीरमा पानी र नुनको मात्रा कमी हुन्छ। पानी र नुनको कमीले गर्दा मुटुको धड्कन बढ्ने, टाउको भारी हुने, श्वास फेर्न असजिलो हुनेजस्ता लक्षण देखिन्छन्। साथै बेहोस हुने र अचानक मृत्युसमेत हुन सक्दछ। बच्चाबच्ची, वृद्धवृद्धा, मोटा मानिसहरू, मधुमेह, मुटु, दम मिर्गौलालगायत विभिन्न समस्याका दीर्घ रोगीहरू जोखिममा पर्छन्। अत्यधिक रक्सीको सेवन गर्ने व्यक्ति, सधैं एयर कन्डिसनर (एसी) लगाएर चिसोमा बस्ने व्यक्तिलाई लु लाग्ने सम्भावना हुन्छ। लुको कारणले स्वास्थ्यमा जटिलता आउने सम्भावना बढी हुन्छ। त्यसैले यस्ता व्यक्तिले अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ। लु लागेका विभिन्न लक्षणहरू देखिन्छन्। शरीरको तापक्रम बढ्ने, टाउको दुख्ने, चक्कर लाग्ने, उल्टी हुने, मांशपेसीको दुखाइ र कडापन आउने हुन्छ। त्यस्तै शरीरबाट धेरै पसिना बग्ने, आँखा रातो हुने, हात खुट्टाहरू पोल्ने, मुटुको धड्कन बढेको महसुस हुने, श्वास फेर्न असजिलो हुने, पखाला लाग्ने, मुख सुक्खा हुने, अत्यधिक थकान हुने र अनुहार रातो हुने हुन्छ। शरीरबाट पसिना आउन बन्द हुन्छ।
जोगिने उपाय
लु लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको गर्मी र तातो हावा चलेको अवस्थामा घाममा ननिस्कनु नै हो। निस्कनै परे पूरै शरीर ढाकिने कपडा लगाएर छाता ओडेर मात्र निस्कने गर्नुपर्छ। शारीरमा पानीको मात्रा कमी हुन नदिन बेलाबेलामा पानी अथवा झोलिलो कुरा पिउने गर्नुपर्छ।
शरीरलाई शीतलता प्रदान गर्ने पेयपदार्थहरू चिसो महपानी, कागतीपानी, इमिलीपानी, मोही, नरिबलको पानी, पुदिना पानीजस्ता पेयहरू प्रशस्त मात्रामा पिउनु उपयुक्त हुन्छ।
काँक्रो, खर्बुजा, तर्बुजा मौसमजस्ता पानीको मात्रा बढी भएका र तुरुन्तै शक्ति प्रदान गर्ने फलफूलहरू खानुपर्छ। चिया, कफी, रक्सी, बोतल बन्द पेयपदार्थ सेवन गर्नु हुँदैन। घरबाट निस्कने कुनै काम छ भने बिहान अथवा बेलुकाको समयमा निस्कनु पर्छ। जति धेरै तातो हावा र घाममा बसियो त्यति नै लु लाग्ने सम्भावना बढ्दै जान्छ। लु लगेको उपचार बिरामीलाई छायाँमा लग्ने कसिएका कपडाहरू छन् भने हल्का गराइदिने बाहिरी कपडाहरू हटाई दिनुपर्छ। बिरामीलाई पंखाको हावामा राख्नुपर्छ। पंखा छैन भने कपडा अथवा किताब, कापीद्वारा हावा दिनु उपयुक्त हुन्छ। सम्भव छ भने शरीरको तापक्रम जाँच गर्नुपर्छ। शरीरको तापक्रम घटाउनको लागि बिरामीलाई पानीको फोहोरामा राख्ने वा चिसो कपडाले लपेट्नु पर्छ। दीर्घरोगी, वृद्ध र बच्चाबाहेकलाई गर्दन, काखी, ढाडमा बरफको सेकसमेत गर्न सकिन्छ। बिरामी होसमा आएपछि पानी र उपलब्ध स्वस्थकर झोलिलो कुरा खान दिनुपर्छ। माथिका उपचारहरू गर्दा समेत बिरामीलाई पूर्णरूपमा सहज अवस्था आएन भने नजिकको स्वास्थ्य संस्थामा पठाई दिनुपर्छ।
डा. पौडेल, सामुदायिक प्राकृतिक चिकित्सालय, नवलपुरका निर्देशक हुन्।
प्रतिक्रिया दिनुहोस !
