अर्थतन्त्र मोटायो, दुब्लाए जनता
काठमाडौं : नेपाल राष्ट्र बैंक र सरकारले अपनाएको नीतिका कारण देशको बाह्य स्थिति सन्तुलनमा आउन थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा छ। यस अवधिमा अघिल्लो आवको बेहोरेको शोधनान्तर घाटाको ८३ प्रतिशत कभर भएको हो।
आयातमा अनियन्त्रित वृद्धि र रेमिट्यान्समा अनपेक्षित गिरावटका कारण आव २०७८÷८० मा अर्थतन्त्रले २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ शोधनान्तर घाटा बेहोरेको थियो। केन्द्रीय बैंकले केही वस्तुको आयातमा अनिवार्य नगद मार्जिन र विलासिताका वस्तु आयातमा सरकारले लगाएको प्रतिबन्धले शोधनान्तर घाटा कभर हुन सकेको हो। आयात पुसदेखि फुकुवा भइसकेको छ भने नगद मार्जिन माघदेखि हटेको छ। यी व्यवस्थाको लाभ हालसम्म निरन्तर रूपमा देखिइरहेको छ।
देशले प्राप्त गर्ने र देशबाट बाहिरिने विदेशी मुद्राको अन्तर नै शोधनान्तर स्थिति वा अंग्रेजीमा ब्यालेन्स अफ पेमेन्ट हो। शोधनान्तर स्थितिले उल्लेखित अवधिमा देशको विदेशी मुद्रा सञ्चिति कति मात्राले बढ्यो वा घट्यो भन्ने देखाउँछ। यस्तो सञ्चिति घटेर साढे ६ महिनाको आयातमात्र धान्न पर्याप्त भएको स्थितिमा राष्ट्र बैंक र सरकारले आयात कडाइको नीति लिएका थिए।
तर, यो नीतिको प्रतिकूल प्रभाव सरकारले संकलन गर्ने राजस्वमा देखिएको छ। आव २०७९÷८० को वैशाख मसान्तसम्म सरकारले कुल ७ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँमात्र राजस्व संकलन गरेको छ। जबकि गत आवको यही अवधिमा ८ खर्ब ६५ अर्ब ७० करोड रुपैयाँ राजस्व उठेको थियो। सरकारको राजस्व नीति आयातमुखी भएकाले आयात ठप्प हुँदा राजस्व घटेको हो।
मोटायो अर्थतन्त्र
वैशाख मसान्तसम्मको तथ्यांकअनुसार कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आएको छ। १० महिनामा बेहोरिएको १२ खर्ब ४ अर्ब ४२ करोड रुपैयाँबराबरको व्यापार घाटाको कारण १३ खर्ब ३२ करोडको आयात जुन अघिल्लो आवभन्दा १६.८ प्रतिशतले घटेको छ। यसै अवधिमा कुल वस्तु निर्यात पनि २४.५ प्रतिशतले कमी आएर १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ।
आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.२ प्रतिशत, पुँजीगत वस्तुको ८.४ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.४ प्रतिशत रहेको छ।
यही अवधिमा देशको खुद सेवा आय ५७ अर्ब ७४ करोड रुपैयाँले घाटामा छ। जसमध्ये भ्रमण आय ९३.८ प्रतिशतले बढेर ५१ अर्ब ८८ करोड रुपैयाँ छ। गत वर्षको १० महिनामा नेपाल घुम्न आउने पर्यटकबाट देशले २६ अर्ब ७७ करोड रुपैयाँ प्राप्त गरेको थियो। १० महिनामा विदेश घुम्न जाँदा नेपालीले १ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेका छन् यसमध्ये विदेश पढ्न जाने विद्यार्थीमार्फत ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको हो। नेपालीहरू विदेश जाँदा गत वर्षको भन्दा ३५.३ प्रतिशतले बढी खर्च भएको हो।
अर्थतन्त्र मोटाउनुको कारण आयात कम हुनुसँगै रेमिट्यान्स बढ्नु हो। १० महिनामा गत आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशत बढी अर्थात् १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ।
वार्षिक तथ्यअनुसार रेमिट्यान्समा उच्च सुधार देखिए पनि मासिक तथ्यले रेमिट्यान्स ७ अर्ब रुपैयाँले घटेको देखाउँछ। चैत महिनामा हालसम्मको बढी १ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकामा वैशाखमा १ खर्ब २ अर्बमात्र भित्रिएको हो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भई ४ लाख २१ हजार २ सय ७९ पुगेको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले वृद्धि भई २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ। समीक्षा अवधिमा खुद ट्रान्सफर २२.५ प्रतिशतले वृद्धि भई ११ खर्ब १० अर्ब २२ करोड पुगेको छ।
वैशाखसम्म चालू खाता ५४ अर्ब ६७ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड मात्र आएको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ६५ करोड रहेको थियो। २०८० वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषले एक्स्टेन्डेड क्रेडिट फसिलिटीअन्तर्गत दोस्रो किस्ताबापतको ६ अर्ब ८८ करोड (अमेरिकी डलर ५ करोड २७ लाख) दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
शोधनान्तर बचतमा रहँदा कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले बढेर १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड रुपैयाँको रिजर्भ थियो। आर्थिक वर्ष २०७९/८० को दस महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.२ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
यसकारण दुब्लाए जनता
सर्वसाधारण महँगीको चरम परिस्थिति भोग्न बाध्य छन्। वस्तु तथा सेवाको आपूर्तिभन्दा खपत कम हुँदा साना व्यवसायी मारमा परेका छन्। केन्द्रीय बैंकको तथ्यांकले पनि मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको देखाउँछ।
यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको मूल्य गत वर्षको सोही अवधिभन्दा २६.६१ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३.६९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४९ प्रतिशतले बढेको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको १३.०८ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको ८.२७ प्रतिशतले बढेको छ।
अर्थतन्त्र ठप्प रहेको तथ्य कर्जा र निक्षेपको विस्तार दरले पनि देखाउँछ। सर्वसाधारणको बचत अर्थात् बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ७.३ प्रतिशतले मात्र बढेको छ भने कर्जा ४.७ प्रतिशतले बढेको छ। अर्थात् सर्वसाधारण बचत गर्न सक्ने अवस्थामा छैनन् र निजी क्षेत्रले लगानी बढाउन नसकिरहेको यो तथ्यले देखाउँछ।