बलात्कार कसुरमा युवकलाई चार महिना कैद
नुवाकोट : बलात्कार कसुरमा नुवाकोटमा एक युवकलाई अदालतले जरिवानासहित चार महिना कैद सजायको फैसला गरेको छ।
युवकलाई कारागार चलान गरिएको छ। १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा नुवाकोट जिल्ला अदालतले पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका-३ का २० वर्षीय परिमान तामाङलाई चार महिना कैद सजायको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै चार महिना कैद सजायको फैसला गरेको हो।
यसका साथै तामाङलाई १० हजार रुपैयाँ जरिवाना, २५ हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन र पाँच सय २० रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ।
तामाङले गत २०७८ माघ १२ गते बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा माघ १३ गते उजुरी दर्ता भएको थियो। पीडित बालिकाको नुवाकोट जिल्ला त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो। कसुरदार तामाङलाई जिल्ला अदालतले गत २०७८ फागुन ५ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।