केही तत्वहरू पुरानो घाउ कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउन खोज्दैछन् : बाबुराम भट्टराई
गोरखा : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षे द्वन्द्वको घाउलाई कोट्याएर मुलुकमा द्वन्द्व निम्त्याउनु दुर्भाग्यपूर्ण भएको बताएका छन्।
पार्टी संगठनको काममा गृहजिल्ला गोरखा आएका उनले बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै केही तत्वहरू मुलुकलाई द्वन्द्व निम्त्याउने षड्यन्त्रमा लागिरहेको बताए।
दस वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उनीविरुद्ध मुद्दा दर्ता भएको विषयमा प्रतिक्रिया दिँदै भट्टराईले सो कुरा बताएका हुन्। ‘प्रचण्ड र मविरुद्ध मुद्दा हाल्नु भनेको यो पुरानो घाउलाई कोट्याएर देशलाई द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ। यसमा केही पात्रहरुले उचालेका मात्रै हुन्,' उनले भने, ‘म त्यसलाई गम्भीरतापूर्वक लिन चाहान्न। किन चाहान्न भने बृहत् शान्ति सम्झौताले सबै कुराको सम्बोधन गरिसकेको छ।’
प्रत्येक कुरालाई कोट्याएर एउटा एउटा मुद्दा यसरी नै उठाउँदै जाने हो भने त्यसले देश दुर्घटनामा जानसक्ने बताउँदै त्यस्तो नहोस भन्ने आफ्नो चाहना रहेको र यसलाई आफूले खासै महत्व नदिएको उनले बताए।
सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोग गठन गरेर यी समस्याको समाधान गर्नुपर्ने उनले बताए। माओवादीले द्वन्द्वकालीन विषयहरू सङ्क्रमणकालीन न्यायका लागि गठित आयोगहरूबाट छिनोफानो गरिनुपर्ने बताउँदै आएका छन्।
तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको सशस्त्र संघर्षमा भाग लिएका कम उमेरका सैनिकलाई अयोग्य ठहर गरेर शिविरबाट बाहिर निकालिएको थियो। यो निर्णयबाट आफूहरूको व्यवस्थापन नभएको भन्दै अयोग्य लडाकुका रूपमा लेलिन विष्टलगायतले मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले सशस्त्र संघर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ। त्यस्तै आधुनिक समाजवादी नीति लिएका पार्टीहरु एक ठाउँ उभिनु आजको आवश्यकता रहेको पनि उनले बताए। समावेशी र सहभागितामूलक लोकतन्त्र, सामाजिक न्यायसहितको प्रणाली नै अहिलेको समाजवाद भएको बताउदै उनले जुनसुकै समूह र पार्टी भएता पनि यो नीतिमा सहमत हुनेहरूबीच पार्टी एकता हुनसक्ने उनले जानकारी दिए।