मधेसमा एमालेले भदौमा प्रदेश अधिवेशन गर्ने
ढल्केवर(धनुषा) :नेकपा एमालेले मधेस प्रदेशको अधिवेशन भदौमा गर्ने भएको छ। बिहिबार जनकपुरमा बसेको मधेस प्रदेश कमिटीको सचिवालय बैठकले भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो।
मधेश प्रदेशका इन्चार्ज तथा केन्द्रीय सचिव योगेश भट्टराईको उपस्थितिमा भएको बैठकले असार ८ गते जनसंगठनको प्रदेश भेला बस्ने, ९ गते प्रदेश प्रचार भेला र असार १३-१४ गते पूर्ण प्रदेश कमिटीको बैठक बस्ने समेत निर्णय गरिएको प्रदेश कमिटीको सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार बैठकले सबै जिल्ला कमिटीलाई बैठक बसेर वार्षिक कार्ययोजना बनाउन निर्देशन पनि गरिएको छ। असार २ गते प्रदेशसभा सदस्यहरूलाई विधायिकी प्रक्रिया, नीति कार्यक्रम र बजेट निर्माण लगायतका विषयमा प्रशिक्षण गर्ने कार्यक्रम रहेको शर्माले जनाए।
बिहीबारै पार्टीका मधेस प्रदेशका निवर्तमान इन्चार्ज एवं केन्द्रीय सचिव रघुवीर महासेठले नयाँ इन्चार्ज भट्टराईलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
बैठकमा भुगोलका पोलिटब्युरो सदस्यहरू, प्रदेश सचिवालय सदस्यहरू, प्रदेशका आठै जिल्लाका अध्यक्षहरू, प्रदेशसभाका नेता तथा सदस्यहरूको उपस्थिति रहेको थियो।