रोकियो बालिका सम्मेलन
ढल्केवर(धनुषा) : सर्लाहीको चन्द्रनगर गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को हिउँदे गाउँ सभाबाट बालिका सम्मेलन गर्ने भनेर २५ लाख रुपैयाँ छुट्याएको रेडबुकमा स्पष्ट उल्लेख छ।
बालिकालाई हरेक कोणबाट सक्षम बनाउने उद्देश्यसहित बालिका सम्मेलनको प्रस्ताव गाउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँसभामा लगेका थिए। सभामा अध्यक्ष महतोले सम्मेलनको लक्ष्य, उद्देश्य र प्रभावसहित ब्रिफिङ गरेपछि उक्त प्रस्ताव स्वीकृत भयो।
उक्त सम्मेलन सम्पन्न गर्न गाउँसभाबाट दुई खर्च शीर्षकमा १० लाख र १५ लाख गरेर २५ लाख रुपैयाँको बजेट पारित गरेको छ।
तर, सम्मेलन सञ्चालन गर्न खोज्दा गाउँपालिकाकी उपाध्यक्ष गीता देवी महतोसहितको जनप्रतिनिधिले विरोध जनाएपछि विवाद सिर्जना भएको छ। गाउँपालिकाले शनिबार(आज) नाढीमन तालमा बालिका सम्मेलनको आयोजना गरेको थियो।
तर उपाध्यक्ष महतोसहितको जनप्रतिनिधिको अवरोधका कारण सम्मेलन स्थगित गरिएको हो। ग्रावेल र सडक ढलानलाई मात्र विकास बुझ्ने केही जनप्रतिनिधिको मनोवैज्ञानिकका कारण काम गर्न समस्या भएको अध्यक्ष महतोको गुनासो छ। ‘यहाँ ग्रावेल र सडक ढलानलाई मात्र विकास बुझ्छ। बालिका सम्मेलनको भाव बुझ्न नसक्नु दुखद हो,’ उनले भने।
सम्मेलनमा बालिकालाई उच्च शिक्षा अध्ययनमा आकर्षित पार्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू समेटिएको थियो। स्नातक अध्ययन गरिरहेका छोरीहरूलाई प्रोत्साहन स्वरूप नगद राशीसहित सम्मान गर्ने योजना रहेको अध्यक्ष महतोले सुनाए।
‘यसका लागि पनि हाम्रो तयारी भइसकेको थियो। गाउँपालिका भित्रका ६९ जना छोरीहरूलाई सम्मान गर्ने कार्यक्रम तय थियो,’ अध्यक्ष महतोले भने ‘यो कार्यक्रमले पनि बालविवाह न्यूनीकरणमा मद्दत पुग्ने र छोरीहरूलाई उच्च शिक्षा पढ्न प्रेरित गर्ने हाम्रो लक्ष्य छ।’
सम्मेलनमा बाल विवाह, दाइजो र शिक्षासम्बन्धी सवाल केन्द्रित ‘प्यानल डिस्कसन’ सञ्चालनको योजना थियो। बालविवाह र दाइजोविरुद्धका योद्धाहरूलाई सम्मान, जिल्ला स्तरमा बालविवाहको अन्त्यका लागि भएका प्रयास, चुनौती लगायतका विषयमा छलफल समेत चलाइने कार्यक्रम रहेको थियो।
सम्मेलनमा विभिन्न धर्मका गुरु, जातीय मान्यजनहरू, महिला अधिकारकर्मीबीचमा पनि छलफलको कार्यक्रम थियो। महिला उत्थानको योजना सञ्चालनमा उपाध्यक्षबाटै अवरोध हुनु सोचनीय विषय भएको बताए। सम्मेलनका लागि बनाइएको टेन्ट भत्काउने र जलाउने लगायतको धम्कीका कारण आफू पछि हटेको अध्यक्ष महतोले सुनाए।
केही जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले बालिका सम्मेलन रोक्न शुक्रवार गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना समेत दिएका थिए। गाउँपालिका अध्यक्षले एकलौटी रुपमा बालिका सम्मेलन गर्न खोजेको उनीहरूको आरोप छ।
गाउँपालिका अध्यक्षले अनावश्यक खर्चहरू कटौती गरेपछि विवाद बढेको स्थानीय बताउँछन्। ‘विरोधका लागि विरोध गर्नेहरूको यहाँ जमात छ। सब कमिसन र भागबण्डाको लागि विरोध र धर्नामा छन्,’ नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय युवाले भने ‘सबैलाई अहिले केही रकम दिने सहमति भयो भने एकछिनमै सबै ठिकठाक हुन्छ।’
अघिल्लो अध्यक्षको कार्यकालमा हामीले पनि पालिका पुग्दा मिनरल वाटर खान सकेका थिएनौं। अहिले कार्यालयका सबैले कलको पानी खानु परेको छ। यो मुखियाजीले धेरै राम्रो प्रयासहरू गरिरहेको छ। राम्रो कामको पनि विरोध भइरह्यो भने हामी प्रतिवाद गर्छौ,’ ती युवाले भने।
यता, उपाध्यक्ष महतोले कमिसनका लागि आफूहरूले बालिका सम्मेलन रोकेको हल्ला निराधार रहेको बताइन्। अध्यक्षले कार्यपालिकामा कुनै सल्लाह नगरेर सम्मेलन गर्न खोजेपछि अवरोध गरेको उनले प्रष्टाइन्।
गाउँभाबाट पारित भइसकेको योजना फेरि कार्यपालिकामा लग्नुपर्छ भन्ने जिज्ञासामा उपाध्यक्ष महतोले कार्यपालिकाका सबै साथीहरूसँग सल्लाह गरेर सहमति गराएर मात्र योजना सञ्चालन गर्नुपर्ने दोहोर्याइन्। 'अब कुनै शर्तमा सम्मेलन गर्न दिँदैनौ। कुनै सहमति सम्झौता हुँदैन,’ उनले भनिन्।