रोगअनुसार उपचार होमियोप्याथी
होमियोप्याथीको एक अन्य नाउँ सदृश विधान चिकित्सा पनि हो।
होमियोप्याथी प्राकृतिक सिद्धान्तमा आधारित वैज्ञानिक चिकित्सा पद्धति हो। होमियोको अर्थ हुन्छ, समान। कुनै पनि रोगको उपचार गर्दा रोगीमा कुन प्रकारका लक्षण देखिन्छ, त्यस्तै प्रकारको समान लक्षण उत्पन्न गराउन सक्ने औषधिको सूक्ष्म मात्रा प्रयोग गरी रोगीलाई निको पार्ने विधि नै होमियोप्याथी हो। समानताको सिद्धान्तअनुसार कुनै पदार्थ स्थुल रूपमा सेवन गर्नाले स्वस्थ्य व्यक्तिमा जुन प्रकारको रोगका लक्षण उत्पन्न हुन्छन्, त्यसै प्रकारको लक्षण भएको रोगी व्यक्तिलाई सोही पदार्थबाट बनेको औषधिको सूक्ष्म मात्राको सेवनले पूर्णरूपले स्वस्थ्य तुल्याउँछ।
यसैकारण होला, होमियोप्याथीको एक अन्य नाउँ सदृश विधान चिकित्सा पनि हो। हुन त एलोप्याथीका जन्मदाता हिपोक्र्याटले पनि आफ्नो आलेखमा सिमिलिया सिमिलिवस क्युरेटर सिद्धान्तको उल्लेख गरेको पाइन्छ (उनले भनेका छन् ‘देएर इज टु सिस्टम अफ ट्रिटमेन्ट, वन इज द डिससिमिलर एन्ड अदर इज सिमिलर।’ तर समान गुणले नै समान गुणलाई नष्ट गर्छ भन्ने कुरालाई व्यावहारिक रूपमा प्रस्तुत गर्ने डा. हेनिमेन हुन्। यसको आविष्कार सन् १७९० मा जर्मनीका एलोप्याथिक चिकित्सक डा. स्यामुयल हेनीमेनले गरे। यो चिकित्सा विधि अस्तित्वमा आएको लगभग २३० वर्ष बढी नै भएको छ। विश्व स्वास्थ्य संगठनको भनाइअनुसार होमियोप्याथी चिकित्सा विश्वमा प्रयोग हुने एलोप्याथीपछिको दोस्रो चिकित्सा पद्धति हो। विश्वका सयभन्दा बढी मुलुकमा ६० करोड मानिस होमियोप्याथिक औषधिको प्रयोग गरिरहेका छन्।
सर्भेअनुसार विश्वको हरेक चौथो व्यक्ति होमियोप्याथी चिकित्सामा विश्वास गर्छन्। यस चिकित्साबाट पूर्ण स्वास्थलाभ गरिरहेका छन्। होमियोप्याथी विश्वमा हानिरहित, निको भइसकेको रोग पुनः बल्झिने सम्भावना नहुने, रोगलाई जरैबाट निर्मूल पार्ने, दूरगामी लाभदायक उपचार, तुरुन्त प्रभावकारी एवं कम खर्चमा सर्वसुलभ औषधिको उपलब्धताको कारण चिकित्साको क्षेत्रमा लोकप्रिय छ।
बिरामी भएपछि उपचार अनेक प्रकारले गराउन सकिन्छ। संसारमा रोगोपचारका प्रचलित चिकित्सा बिधिहरू– एलोप्याथी, होमियोप्याथी, आयुर्वेदिक, युनानी, प्राकृतिक चिकित्सा इत्यादि छन्। कुनै पनि चिकित्सा बिधिबाट उपचार गराउन सकिन्छ। अमुक पद्धति सबैभन्दा राम्रो छ वा अमूक पद्धति सबैभन्दा खराब छ, यो भन्नु बिल्कुल गलत हो। यो व्यक्ति विशेषमा भर पर्ने कुरा हो। उसलाई कुन चिकित्सा विधिबाट आराम मिल्छ ? अन्य चिकित्सा विधिमा रोगको उपचार मात्र गरिन्छ, रोगीको उपचार होमियोप्याथीमा गरिन्छ।
रोगीको परीक्षण तथा प्याथोलोजिकल टेस्टको आधारमा रोगको वर्गीकरण गरी अमूक रोगको उपचार गरिन्छ। तपाईं यदि कुनै होमियोप्याथिक चिकित्सककहाँ जानुभयो भने उसले तपाईंसँग लगभग एक घन्टासम्म सोधपुछ गर्न सक्छ। प्रश्न यस्ता हुन सक्छन्– कहाँ दुख्छ ? कुन बेला दुख्छ ? बिहान, दिउँसो, साँझ या राति ? दुखेको बेला के गर्दा दुखाइमा कमी भएको अनुभव हुन्छ ? घरभित्र या बाहिर आराम गर्दा या हिँड्डुल गर्दा ? टाउको दुखाइसँगै अरू पनि केही समस्या छ कि– वाकवाक लाग्नु, बान्ता आउनु, रिँगटा लाग्नु, आँखाको दृष्टि कमजोर हुनु। कब्जियत छ कि ? महिलाको हकमा भए महिनावारी समयमा हुन्छ कि हुन्न ? भोक, प्यास, निन्द्रा, दिशा, पिसाब कस्तो छ ? आदि।
होमियोप्याथीमा रोगीको शारीरिक एवं मानसिक लक्षण समूहको विश्लेषण गर्न होमियोप्याथिक सफ्टवेयर (कम्पुटर वा मोबाइल सेट) को सहयोग लिइन्छ। विश्लेषणपश्चात् जुन औषधिसँगको लक्षण समूह रोगीको लक्षण समूहसँग बढी मिल्छ, उही एकल औषधिको सूक्ष्म मात्राको सेवन गर्नाले रोगी पुनः आफ्नो स्वस्थ्य अवस्थामा फर्किन सहयोग पुग्छ। यही कारण हो कि एउटै रोगबाट पीडित पाँचजना भिन्न÷भिन्न बिरामीलाई उनीहरूको प्रकृतिअनुसार बेग्लाबेग्लै औषधि दिइन्छ।
यसैगरी भिन्न रोगबाट पीडित धेरैजसो रोगीलाई लक्षण समानताको आधारमा एउटै औषधिको प्रयोगले पनि रोग निको पार्न सकिन्छ। रोगको नाउँ जे पनि हुनसक्छ। रोगको होइन, होमियोप्याथीले रोगीको उपचार गर्छ। होमियोप्याथी चिकित्सा पद्धतिमा रोगको निदान गर्ने प्रक्रिया अन्य चिकित्सा प्रणालीभन्दा अलिक भिन्न छ। यसमा बिरामीलाई समष्टिगत रूपमा ध्यानमा राखेर कुनै पनि रोगको निदान गरिन्छ। जसमा रोगीको शारीरिक परीक्षण, आवश्यकताअनुसारको ल्याबटेस्ट गराइन्छ। चिकित्सककहाँ रोगी जुन समस्या लिएर आएको हुन्छ, त्यसलाई केस टेकिङअन्तर्गत टिपोट गरिन्छ।
मानसिक एवं शारीरिक लक्षणको अलावा रोगीको रिस, द्वेष, स्वभाव, पेसा, सामाजिक अवस्था, पारिवारिक इतिहास, व्यक्तिगत हिस्ट्री, मेडिकल हिष्ट्री आदि कुरा होमियोप्याथिक चिकित्सकले जान्नुपर्ने हुन्छ। यो व्यक्तिपूरक चिकित्सा भएकाले समष्टिगत रूपमा एउटा व्यक्ति विशेषको सिंगो जीवनको अध्ययन गर्नुपर्ने हुन्छ। यस क्रममा एकदेखि डेढ घन्टा समय लाग्न सक्छ। प्रत्येक चिकित्सा विज्ञानको आफ्नै कार्यक्षेत्र र सीमा हुन्छ। कुनै पनि चिकित्सा पद्धति आफैंमा परिपूर्ण छैन। भनाइ नै छ, कतै उपचार हुन नसकेको रोग पनि होमियोप्याथिकबाट ठीक हुन्छ। केही हदसम्म यो ठीक भए पनि होमियोप्याथिक चिकित्साको पनि आफ्नो केही सीमा छ।
दुर्घटनाग्रस्त केसेज, दाँतसम्बन्धी समस्या (दाँत उखेल्नु, दाँत सफा गर्नु, फिलिङ, नक्कली दाँत लगाउनु, ब्रिजिङ) यसबाट उपचार हुँदैन। यस्तै गम्भीर किसिमका सर्जिकल रोग, हर्निया, हाइड्रोसिल, थर्डग्रेडको पाइल्स, सर्पदंश, कुकुरले टोकेको, विषपान गरेको, आगोले डढेको, सिभियर इनफेक्सन केस, निमोनिया, क्षयरोग, हार्टअटेक, सिपिओडी आदि रोगबाहेक अन्य सबै रोगको उपचार गर्न होमियोप्याथी पूर्णरूपले सक्षम छ।
बिरामी उपचारपछि निको हुन्छ, उसका आफन्तले कुन रोग लागेको हो, रोगको नाउँ थाहा पाउँछन्। निमोनिया भएको थियो, ठीक भयो। आज धेरैजसो व्यक्तिलाई केही रोगको नाउँसमेत थाहा छ। रोगकै कुरा गर्ने हो भने होमियोप्याथीबाट उपचार हुने रोगहरू निम्न छन्। यी रोगको उपचारमा होमियोप्याथी चिकित्सा अत्यन्तै प्रभावकारी छ।
१. मनोविकार (साइकोलोजी), मनोविकृति (साइकेट्रिक), एकाग्रताको कमी (लस अफ कन्फिडेन्स), लस अफ मेमोरी, खिन्नता (डिप्रेसन), डर, घबराहट (फोबिया), तनाव (टेन्सन), हिस्टोरिया, अनिन्द्रा, घरिघरी हात धोइरहने।
२. बालरोग (पेडियेट्रिक), दाँत आउने बेला हुने समस्याहरू, सुकेनाश (रिकेटस डिजिज) ओछ्यानमा पिसाब गर्नु (बेडवेटिङ), जुकाको समस्या।
३. महिलासम्बन्धी रोग (महिनाबारीको गडबडी, सेतो पानी बग्ने समस्या, ओभरियन सिस्ट, युटेरिन फाइब्राइड, स्तनमा गाँठो (फाइब्रोएडेनोमा), बाँझोपन (इनफर्टिलाइटी)।
४. छालासम्बन्धी रोग (डर्मोटोलोजी) डन्डिफोर, आर्टिकेरिया, रिङवर्म, एग्जिमा, अनुहारको चाया, सोरायसिस, लयुकोडर्मा, छालाको एलर्जी, मुसा आदि।
५. नाक, कान र घाँटी (इएनटी), टन्सिलाइटिस, कोल्डफ्लु, एलर्जिक राइनिटिस, क्रोनिक साइनुसाइटिस (पुरानो पिनास), नाकबाट कुनै गन्ध थाहा नपाउनु, इपिटेक्सिस (नाकबाट रगत आउनु), स्वर भासिनु तथा आवाजमा परिवर्तन हुनु।
६. छातीको रोग, खोकी, इस्नोफिलिया, ब्रोकियल अस्थमा।
७. हड्डी तथा जोर्नीको रोग (अर्थोपेडिक), गठिया बात (गाउट), जोर्नी सुनिनु (अर्थराइटिस), स्पोनोन्डोलाइटिस, कम्मरको दुखाइ (ब्याकपेन), सन्धिबात (ओस्टियो अर्थराइटिस), साइटिका पेन, असामान्य रुपले हड्डी बढ्नु (बोन ट्युमर)।
८. किड्नी तथा मुत्ररोग (नेफ्रोलोजी), रेनाल स्टोन, मुत्रमार्गको इन्फेक्सन (यूटीआई), प्रोस्टाइटिस (प्रोस्टेस्ट ग्रन्थी बढेको)।
९. यौनरोग (सेक्सुअल प्रोब्लम) शिघ्रपतन, नपुंसकता, स्वप्नदोष।