मटिहानीले ल्यायो ४० करोड ३९ लाखको बजेट
ढल्केवर : महोत्तरीको मटिहानी नगरपालिकाले ४० करोड ३९ लाखभन्दा बढीको बजेट ल्याएको छ। बुधबार मेयर हरिप्रसाद मण्डलले नगरपालिकाको ११ औं नगरसभामा अगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ४० करोड ३९ लाख ८ हजार १ सय रुपैयाको बजेट प्रस्तुत गरेका हुन्।
उनले वडा समितिहरुको प्रशासनिक तथा साधारण खर्च रकम तीन लाखको दरले २७ लाख विनियोजन गरिएको जानकारी दिए। बस्ती तथा वडास्तरबाट छनौट भइ आउने योजना सञ्चालनसमेत गरी वडा समितिको पुँजीगत खर्चतर्फ ५७ लाखको दरले ५ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको पनि सुनाए।
चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरुलाई अगामी आर्थिक वर्ष २०८०-०८१ मा सम्पन्न गर्न सोही अनुसार बजेट विनियोजन गरिएको मेयर मण्डलले बताए।
नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ। अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मखान खेतीलाई व्यवसायीकरणमा निरन्तरता, किसानलाई परिचयपत्र वितरण, लक्ष्मी सागरलाई प्रदेशकै नमूना पोखरीको रुपमा विकास बनाउने, मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचिकृतको लागि नेपाल सरकारसँग अनुरोध गरिने जस्ता विषय समेटिएको छ।
यस्तै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण, सामुदायिक विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रालाई निशुल्क साइकल वितरण, राम माविमा स्नातक तहसम्मको पढाइका लागि विशेष पहल गरिने, गर्भवतीको लागि निशुल्क अल्ट्रासाउण्ड सेवा, मटिहानी बजारमा ‘वाटर एटिएम’ सञ्चालनमा ल्याइने जस्ता लोकप्रिय कार्यक्रमहरुले स्थान पाएको छ।
नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै मेयर मण्डलले स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप र क्षमतालाई प्रश्रय दिने नीति अवलम्बन गरिने बताए। नगरपालिकाको कार्यहरुमा पादर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्यायलाई अङ्गिकार गर्दै भ्रष्टाचारमुक्त विधिको शासन व्यवस्थाको सुनिश्चितता गरिने उनको भनाइ थियो।
नगर निर्माणको कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र लगायत साझेदार संघसंस्थाहरुको सहकार्य आवश्यक हुने बताउँदै मेयर मण्डलले भने, ‘सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कार्यहरुलाई प्राथमिकता दिइनेछ।’
अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि परेका समुदायहरु समेतलाई मध्यनजर गर्दै नगरवासीको सर्वोपरी हितलाई ध्यानमा राखी नगरको चौतर्फी विकासमा सहयोग पुग्न सक्ने उद्देश्यमा परिलक्षित रहेको मेयर मण्डलले दावी गरे।
संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरसभाको उद्घाटन समारोहमा प्रदेश सांसदहरु अभिराम शर्मा, रानी शर्मा तिवारी, जयनुल राईन, रमिता प्रधान, नगरउपप्रमुख मंजुदेवी साह, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।