क्षीरेश्वरनाथ नगरपालिकाले ल्यायो ६८ करोड ९२ लाखको बजेट
ढल्केवर(धनुषा) : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले ६८ करोड ९२ लाख ९९ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको ११ औं नगरसभामा मेयर सुखदेव यादवले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ६८ करोड ९२ लाख ९९ हजारको अनुमानित बजेट सार्वजनिक गरेका हुन्।
नगरपालिकाले नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान १२ करोड ५६ लाख, नेपाल सरकार सर्शत अनुदान १६ करोड ८९ लाख, नेपाल सरकार विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ८० लाख, राजश्व बाँडफाँट ९ करोड ७४ लाख ७७ हजार, प्रदेश सरकार वित्तीय समानीकरणमा ९२ लाख ७२ हजार, सर्शत अनुदान १ करोड, समपुरक अनुदान २० लाख, विशेष अनुदान ३० लाख, राजश्व बाँडफाँट ७० लाख आय हुने अनुमान गरिएको छ।
यस्तै आन्तरिक आय ३ करोड १० लाख, गत मौज्दात ७ करोड, सडक बोर्ड नेपालको २५ लाख, युनिसेफको कार्यक्रम १० लाख, सामाजिक सुरक्षा ११ करोड ३२ लाख ५० हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम ५ लाख, लागत सहभागिता १ करोड ५० लाख र मालपोत कार्यालयबाट ६८ लाख गरी जम्मा ६८ करोड ९२ लाख ९९ हजारको आय अनुमान गरिएको मेयर यादवले बताए।
नगरपालिका आगामी वर्षमा समेत चाल किल्ला, घर बाटो, नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता बसाइँसराइको सिफारिस निःशुल्क गर्ने नीति लिइएको उनले बताए। नगरपालिकाले कृषकसँग मेयर कार्यक्रम सञ्चालन गर्ने पनि नीति कार्यक्रममा उल्लेख छ।