चोरीको घटनाले व्यवसायीमा त्रास, सुरक्षा खोज्दै प्रदर्शन

चोरीको घटनाले व्यवसायीमा त्रास, सुरक्षा खोज्दै प्रदर्शन
सुन्नुहोस्

ढल्केवर : महोत्तरीको बर्दिवासमा एकै रात दुईवटा सुनचाँदी पसलमा चोरी भएपछि व्यवसायीहरू त्रसित भएका छन्। बर्दिवासमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै व्यवसायीहरूले विरोध र्‍याली निकालेर प्रदर्शन गर्दै प्रहरी प्रशासनमाथि आक्रोश पोखेका हुन्।

आइतबार बिहान बर्दिवास नगरपालिका–१४ औरही रोडमा सञ्चालनमा रहेको न्यू साई ज्वेलर्स र श्रीहरी ज्वेलर्समा चोरी भएको हो। बिहान ३ बजेको समयमा सटर फुटाएर लाखौं रुपैयाँको धनमाल चोरी भएको बर्दिवास उद्योग वाणिज्य संघका महासचिव उत्तमकुमार श्रेष्ठले जानकारी दिए।

न्यू साई ज्वेलर्सबाट २५ तोला र श्रीहरी ज्वेलर्सबाट १० तोला बराबरको सुनचाँदी चोरी भएको पीडितको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक विजय कुमार यादवले जानकारी दिए।

प्रहरी प्रशासन भीआईपीको अगाडि पछाडि गर्न व्यस्त भएपछि आपराधिक गतिविधिहरू बढेको सुनचाँदी व्यवसायी संघ महोत्तरीका महासचिव विनोद भण्डारीले आरोप लगाए। ‘भीआईपीकै अगाडि पछाडि मात्रै गर्ने हो भने चाहिँदैन यस्तो प्रहरी प्रशासन,’ आक्रोश पोख्दै उनले भने ‘हामी दिउँसै लुटिएका छौं। यसअघि पनि लक्ष्मी ज्वेलर्समा दिन दहाडै सुन लुटिएको थियो। त्यो घटनाको अपराधी अहिलेसम्म पत्ता लगाउन सकेको छैन।’

बर्दिवास नगरपालिकाले एक अर्बको बजेट ल्याउँदा पनि सुरक्षाका लागि एक प्रतिशत बजेट समेत नछुट्याउनु विडम्बना भएको उनले टिप्पणी गरे। यसअघि जडान भएको आधुनिक सीसी क्यामेरा मर्मत गर्नुपर्नेमा जोड दिँदै महासचिव भण्डारीले आवश्यकता अनुसार नयाँ क्यामेरा थप गर्नुपर्ने उल्लेख गरे।

प्रहरीको सुरक्षा विट नजिकैको पसलबाट चोरी हुँदा पनि सुरक्षाकर्मीहरूलाई थाहा नहुनु खेदको विषय भएको स्थानीय व्यवसायीहरू बताउँछन्। पछिल्लो आपराधिक घटनाक्रमले प्रहरी प्रशासनको कार्यशैलीप्रति प्रश्न चिह्न खडा भएको उनीहरूको आरोप छ।

व्यवसायीहरू आर्थिक संकटमा परिरहेको बेला बारम्बार चोरी लुटपाटका घटनाहरू बढ्नुले व्यवसायीहरूमा त्रास उत्पन्न भएको बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले बताए। प्रहरीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै उनले आक्रोश पोखे।

उनले घटनामा संलग्न अपराधीहरूलाई अबिलम्ब पक्राउ गरी कारबाही गर्न सुरक्षा निकायलाई आग्रह गरे। अपराधीहरू नसमातिए बजारै बन्द गरेर आफूहरू सडकमै उत्रिन बाध्य हुने अध्यक्ष खड्काले चेतावनी दिए।

यता इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक यादवले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए। चोरीको घटनाले व्यवसायीहरू आक्रोशित हुनु स्वाभाविक भएको बताउँदै उनले सुरक्षाको सवालमा प्रहरी संवेदनशील रहेको दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.