राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य महतो जनकपुर विमानस्थलबाट पक्राउ
ढल्केवर(धनुषा) : राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हरिनारायण महतो जनकपुर विमानस्थलबाट पक्राउ परेका छन्।
महोत्तरीको गौशाला नगरपालिका-१ रामनगर घर भएका महतोलाई अभद्र व्यवहार मुद्दामा पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले अन्नपूर्णलाई जानकारी दिए।
पक्राउ परेका महतोमाथि गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी महतोलाई उनकै कार्यकक्षमा दुर्व्यवहार गरेको आरोप छ। प्रहरीले उनको खोजीकार्य तीव्र पारेपछि लुकीछिपी काठमाडौं भाग्न खोज्दा मंगलबार बिहान जनकपुर विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ।
पक्राउ परेका आरोपित महतोलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।