८१ घरलाई पिउने पानी
नुवाकोट : सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरको दुई गाउँमा रहेको ८१ घरमा पिउने पानीको सुविधा पुगेको छ। गत माघ ६ गतेदेखि सञ्चालित लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएसँगै सर्वसाधारण गाउँवासी खुसी भएका छन्।
सदरमुकाम बिदुरदेखि २५ किलोमिटर दूरीमा रहेको तारकेश्वर गाउँपालिका १ लर्केप र सेलडाडामा २५ लाख रुपैयाँको लागतमा लिफ्टिङ पिउने पानी योजना सञ्चालन भएको हो।
यसबाट ८१ घरका पाँच सय जना जनसंख्यालाई सुविधा पुगेको वडाध्यक्ष चक्रबहादुर तामाङले जानकारी दिए। निर्माण सम्पन्न भएको सो लिफ्टिङ पिउने पानी योजनाको तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरलले उद्घाटन गरे। अध्यक्ष अधिकारीले गाउँवासीलाई पिउने पानीको सुविधा प्रदान गर्न सकिएकोमा गाउँवासीलाई बधाई दिँदै आफूले सदा पिउने पानी, शिक्षा, स्वास्थ्यमा क्रियाशीलता अपनाइरहेको बताए।
उद्घाटन कार्यक्रममा वडाध्यक्ष चक्रवहादुर तामाङ, सहयोगी संस्था लिभिङ वाटर नेपालका प्रबन्ध निर्देशक विजय गुरुङले पिउने पानीको योजना सफल हुनुमा स्थानीयवासीको सहयोग प्रभावकारी रहेको बताए। गत माघ ६ गते सम्झौता गरेर सञ्चालित सो योजनावाट तारकेश्वर १ लर्केप र
सेलडाँडाका ८१ घर धुरीलाई एक घर एक धारा लिफ्टिङ खानेपानी आयोजनाको सुविधा पुगेको छ। पिउने पानीको सुविधा भएसँगै वर्षौंदेखि समस्या भोग्दै आएका सर्वसाधारण निकै खुसी भएका छन्। सो योजनालाई तारकेश्वर गापावाट व्यवस्थापन गर्न आवश्यक सहयोग गरिने जनाइएको छ।