गोरखामा ५४ किलोको क्वार्ज क्रिष्टल ढुंगा बरामद
गोरखा : प्रहरीले गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट ५४ किलोको क्वार्ज क्रिष्टल बरामद गरेको छ।
गरगहना बनाउन प्रयोग हुने महँगो धातु अवैध रुपमा किनबेच हुन लागेको सूचना पाएपछि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बिहीबार बिहान प्रहरी निरीक्षक रवीन्द्र अधिकारी नेतृत्वको टोली सो घरमा पुगेर उक्त ढुंगा बरामद गरेको हो। ‘त्यस घरमा लाखौं मूल्य पर्ने क्वार्ज क्रिस्टल किनबेचको चर्चा चलिरहेका विषयमा एक–डेढ महिनादेखि हामीलाई सूचना थियो,’ एसपी अनुपम श्रेष्ठले भने, ‘पश्चिम नेपालतिरबाट मान्छेहरू हेर्न आउने जाने गर्थे। बिहीबार पनि उनीहरू आएर महंगो मूल्यमा खरिद गरेर लैजान लागेको भन्ने सूचना आयो। अनि बरामद गरेर ल्याएका हौँ।’
प्रारम्भिक अनुसन्धानबाट उक्त ढुंगा क्वार्ज क्रिष्टल भन्ने खुल्न आएको र थप परीक्षणको तयारी भइरहेको उनले बताए।
‘ढुंगा पारदर्शी छ, लाइट बाल्दा प्रकाश वारपार हुन्छ, हामीले भिडियोकल गरेर विज्ञलाई देखाउँदा क्वार्ज क्रिष्टल भन्नुभएको छ। गोरखा बजारका सुनारहरूलाई देखाउँदा गरगहना बनाउन प्रयोग हुने जरीहिरा भनेका छन्। आधिकारिक रूपमा विज्ञद्वारा परीक्षण गर्न भने बाँकी’, एसपी श्रेष्ठले भने।
परीक्षणका लागि सबैभन्दा पहिले पुरातत्व विभाग पठाउने उनले जानकारी दिए। परीक्षणको नतिजा अनुसार थप अनुसन्धान अघि बढाउने बताइएको छ। किनबेचका विषयमा भने आवश्यक अनुसन्धान भइरहेको एसपी श्रेष्ठले बताए।